• १३ वैशाख २०८१, बिहिबार

पाँच वर्षमा मनाइने कन्तरी पूजा

blog

मीना कँडेल 

कावासोती, चैत २२ गते । नवलपुर र चितवनका थारू समुदायले धुमधामका साथ मनाउने संसारी (कन्तरी) पूजा यस वर्ष सुरु भएको छ। थारू समुदायमा विशेष महìवका साथ पर्वकै रूपमा (कन्तरी) पूजा मनाउने गरिन्छ। 

रोगब्याधी अन्त्यका लागि थारू समुदायले कन्तरी माई र संसारी माईको पूजा गर्ने गर्छन्। यी सबै थारू समुदायका फरक–फरक कुलघरानाले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन्। मध्यबिन्दु नगरपालिका–१ का पुजारी गुनकुमार गुरौल फरक कुलका विभिन्न देवीदेवतालाई नवलपुरको देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा एकै थलोमा देख्न पाइने बताउनुभयो। नवलपुर जिल्लाका कावासोतीका विभिन्न स्थान, देवचुली डाँडा, गैँडाकोटको सिख्रौली, भेडाबारी, विनयी त्रिवेणीको सर्दी गरी ११ स्थानमा कुलदेवताको देवीथान स्थापना गरी पूजाआजा गरिने गुरौले बताउनुभयो। 

हरेक पाँच/पाँच वर्षमा थारू समुदायले कन्तरी पूजा गर्ने र परिवारमा सुखशान्ति मिल्ने विश्वास रहेको कावासोती–१५ का टीका चौधरी बताउनुहुन्छ। चैत पूर्णिमाको दिन स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा गरिने पूजा भने सर्वसाधारणको उपस्थितिमा तीन दिन अघिदेखि गर्ने गरिएको छ।

यो पूजा देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा गएर गर्ने गरिन्छ। श्रीथान कुमारवर्ती माई (देवी) संरक्षण समिति नवलपुरका सचिव पतिराम थनेतले यस वर्षको संसारी माईको पूजा सुरु भएको बताउनुभयो।

कन्तरी पूजा गर्दा डोलासहित हात्ती, घोडा र मानिसका मूर्ति बनाएर स्थानीयको घरबाट मूर्तिलाई नारायणी नदीमा लगेर चोखो बनाई स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा पु¥याएर मूर्ति स्थापना गरिन्छ। घरमूलीले सुरुमा थाली उठाइसकेपछि मात्र अरूले क्रमशः लाइनबद्ध तरिकाले उठाइने गरिन्छ। पूजा गर्ने स्थानमा पुगेपछि पनि घरमूलीदेखि गुरुले विधिवत् रूपमा पूजाआजा गर्ने गर्छन्। 

 नवलपुर र चितवनका थारू समुदाय पूर्णिमाको अघिल्लो रात कृतिपुरमा बास बसी २२ गते अर्थात् चैत पूर्णिमाको दिन संसारी माईको पूजा गर्ने गरिन्थ्यो। सोही स्थानमा पाँच वर्षमा एक पटक कन्तरी माईको पूजा गर्ने प्रचलन थारू समुदायमा रहेको छ। 

विशेषगरी पूजा गर्ने स्थानमा खसी, बोका, कुखुरालाई बलि दिएर साँझ घर फर्किएर खाना खाने कावासोती–१० का स्थानीय चन्द्रा महतो बताउनुहुन्छ। थारूहरूले हरेक पर्वमा पुज्ने अग्नि देवताका लागि पनि भाग छुट्याइन्छ। परिवारका सबै सदस्यसँगै बसेर रमाइलो गर्दै एकअर्कामा माया र सद्भाव साटासाट गर्दै खाने र रमाउने गरिन्छ। पूजा समापनपछि विशेष परिकारका साथ रमाइलो गरी एक आपसमा बाँडीचुँडी खानपिन गर्ने चलन थारू समुदायमा छ। 

पाण्डव थारू समुदायको सबभन्दा ठूलो देवता भएकाले कन्तरी पूजा गरेपछि घरपरिवारमा सुख शान्ति मिल्ने र रोगब्याधी नलाग्ने धार्मिक विश्वास रहेको मध्यबिन्दुका खुसीराम महतोले बताउनुभयो। थारू जातिको मौलिक तथा प्राचीन कला, संस्कृति हराउने चिन्ता बढेको कतिपय युवा पुस्तामा पूजाको महìव नै हराउँदै जान थालेको पनि थारू अगुवा महतोले चिन्ता व्यक्त गर्नुभयो।