• १६ चैत २०८०, शुक्रबार

क्याम्पस स्थापनाका लागि महायज्ञ

blog

लहान समाचारदाता

लहान, चैत २२ गते । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा क्याम्पस स्थापनार्थ आर्थिक सङ्कलनका लागि १० दिनदेखि विष्णु महायज्ञ भइरहेको छ। साढे दुई करोड रुपियाँ सङ्कलन हुने विश्वासका साथ चैत १२ देखि सुरु भएको महायज्ञ २३ गतेसम्म चल्ने आयोजकले जनाएका छन्।

 लहान, सिरहा सदरमुकाम, मिर्चैया र गोलबजारमा उच्च शिक्षा हासिल गर्न जानुपर्ने बाध्यताले विपन्न दलित समुदाय बञ्चित भइरहेकाले क्याम्पस स्थापनाका लागि विष्णु महायज्ञ सुरु गरेको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी गराउनुभयो। हुलाकी राजमार्गसँग जोडिएको बरियारपट्टीमा भइरहेको महायज्ञमा अहिलेसम्म दुई करोड रुपियाँभन्दा बढी आर्थिक सङ्कलन भइसकेको र गाउँपालिकाले पनि ५० लाख रुपियाँ सहयोग गर्ने अध्यक्ष महतोले प्रतिबद्धता जनाउनुभयो। 

उहाँले भन्नुभयो, “आर्थिक रूपले सम्पन्न परिवारका व्यक्तिले आफ्ना सन्तानलाई सहरी क्षेत्रमा भर्ना गरी उच्च शिक्षा दिइरहेका छन् तर विपन्न दलित समुदायका सन्तान उच्च शिक्षाबाट वञ्चित भइरहेका छन्। यहि आवश्यकतालाई महसुस गरेर आर्थिक सङ्कलनका लागि महायज्ञ आयोजना गरिएको छ।”

सिरहा–२ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले क्याम्पस स्थापनाका लागि दक्षिणी भेगका स्थानीयवासीले महायज्ञ आयोजना गर्नु अत्यन्तै सराहनीय रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको समेत अन्त्य हुने बताउनुभयो। उहाँले थप्नुभयो, “महायज्ञबाट नैतिक, धार्मिक शिक्षा लिई चरित्र सुधार गर्न र शिक्षाप्रति चासो र भोक जगाउनसमेत महायज्ञले लाभान्वित हुनेछ। सङ्घीय सरकारबाट आर्थिक सहयोग उपलब्ध गराउन पहल गर्नेछु।”

प्रदेश सभा सदस्य सञ्जय यादवले ग्रामीण क्षेत्रमा आवश्यकताको बोध गरेर क्याम्पस स्थापना गरिएको भए आर्थिक सङ्कलनका लागि महायज्ञ नै गर्नुपर्ने अवस्था थिएन भन्दै सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो। स्थानीय नागरिक अगुवा रामरिझन यादवले शिक्षा आर्जनका लागि यो अवस्था आउनु अत्यन्त दुःखद भएको बताउनुभयो।

दुई बिघा तीन कट्ठा जग्गामा बहुमुखी क्याम्पस सञ्चालनका लागि आर्थिक स्रोत आवश्यक भएको महायज्ञ मूल आयोजक समितिका सदस्य बरियारपट्टी माविका प्रधानाध्यापक वीरबल यादवले बताउनुभयो। महायज्ञ हेर्न आउने भारतीय नागरिकबाटसमेत सहयोग प्राप्त भएको बताउँदै उहाँले आवश्यक रकम सङ्कलन हुने जानकारी दिनुभयो।