• १६ चैत २०८०, शुक्रबार

फोहोर फ्याँके पाँच हजार

blog

सिन्धुली समाचारदाता 

सिन्धुलीमाढी, चैत २२ गते । बीपी राजमार्गलाई फोहोर बन्न नदिन र सफा राख्न नयाँ अभियान सुरु गरिएको छ । सडक सफा राख्न सिन्धुलीबाट अभियान सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले अहिले बीपी राजमार्गमा जथाभावी फोहोर नफाल्न हरेक गाडीलाई रोकेर सम्झाउने काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्झाउने काम १५ दिनसम्म गर्छौं । त्यसपछि जथाभावी फोहोर फाल्ने गाडीलाई नगरपालिकाको रसिदमा पाँच हजार रुपियाँसम्म जरिवाना सुरु गर्छौं ।” डिभिजन वन कार्यालयको आर्थिक सहयोग, कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा अभियान सुरु गरिएको छ । 

बीपी राजमार्गको सौन्दर्य कायम राख्न हरेक हप्ताको शुक्रबार बृहत् सरसफाइ अभियान सुरु गरिएको उहाँले बताउनुभयो । प्रहरी सहायक निरीक्षक पाण्डेका अनुसार गाडीभित्र उत्पादन हुने बान्तासहितको प्लास्टिक, पानीको बोतल, चाउचाउलगायत पत्रु खानाका खोलको फोहोर सङ्कलन गर्न छोप्ने ढकनसहितको डस्टबिन सवारीधनीले अनिवार्य राख्नुपर्नेछ । गाडीभित्र सङ्कलन गरिएको फोहोर सवारीधनीले राजमार्गको विभिन्न स्थानमा राखिएको फोहोर सङ्कलनस्थलमा राख्ने व्यवस्था मिलाउन लागिएको छ । 

बीपी राजमार्गमा उक्त नियमलाई उल्लङ्घन गरी बान्ता गरेको प्लास्टिक फाले पाँच सय रुपियाँ, पत्रु खानाका खोल फाले ३५० रुपियाँ जरिवाना गरिने भएको छ । अन्य फोहोर फालेमा दुई सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना गरी कारबाही गर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । 

पूर्वी नेपालका जिल्लालाई राजधानीसँग जोड्ने १६० किलोमिटर लम्बाइको बीपी राजमार्ग जापान सरकारको करिब २६ अर्ब रुपियाँ अनुदानमा बनेको हो । २०५२ सालमा निर्माण सुरु भएको राजमार्ग २०७१ साल चैत महिनामा सम्पन्न भएको थियो ।

बीपी राजमार्गको बर्दिबासदेखि धुलिखेलसम्म नै उक्त अभियान सञ्चालन गर्न लागेको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जापान सरकारको सहयोगमा निर्माण भएको नमुना बीपी राजमार्गमा यात्रुले जथाभावी फोहोर फाल्नाले दुर्गन्ध बढ्दै गएको छ । बीपी राजमार्गलाई हराभरा, सुन्दर बनाउन पनि बृहत् सरसफाइ अभियान सुरु गरिएको हो ।”

नेपाल प्रहरी, कमलामाई नगर प्रहरी र डिभिजन वन कार्यालयका टोलीले यसको कडाइका साथ निगरानी गर्ने व्यवस्था मिलाइएको छ । बीपी राजमार्गलाई सरसफाइ गर्न छिमेकका अरू जिल्लासँग पनि समन्वय गर्ने काम भइरहेको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बीपी राजमार्गमा अहिले दैनिक साना ठूला गरी चार हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएका छन् । 

बीपी राजमार्गको सौन्दर्य कायम राख्न राजमार्गमा फोहोर फाल्नेलाई वातावरण संरक्षण ऐन नियमावली र स्थानीय तहको वातावरण नियमावलीअनुसार कारबाही गरिने डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले बताउनुभयो । राजमार्गमा गुड्ने सवारी, स्थानीय बासिन्दा, होटेल व्यवसायी कसैले पनि राजमार्ग र आसपासमा फोहोर फालेमा कारबाहीको भागिदार हुनुपर्ने उहाँको भनाइ छ ।