• १६ चैत २०८०, शुक्रबार

नेपाललाई हिन्दुराष्ट्र बनाइनेछ : अध्यक्ष लिङदेन

blog

महाधिवेशनलाई रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउन सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । सके सदनबाट नसके सडकबाट भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उहाँको भनाइ छ ।  

विश्व हिन्दु महासंघ नेपालको महासभा तथा आठौं महाधिवेशनलाई रुपन्देहीको बुटवलमा आज सम्बोधन गर्दै उहाँँले सो कुरा बताउनुभएको हो । जनताले विश्वास गरेमा दुई तिहाई बहुमत ल्याएर हिन्दुराष्ट्र कायम गर्ने र जनताले हतार गरे काठमाडौं घेरेर भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।  

राजनीतिबाटै नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै उहाँँले राजनीतिबाटै नेपाललाई फेरि हिन्दुराष्ट्र कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका लिङदेनले विश्व हिन्दु महासंघले नेपाललाई हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्दैमा नहुने बताउँदै राप्रपालाई साथ दिएर अघि बढ्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाललाई हिन्दुराष्ट्र बनाएपछि बरु हामी कांग्रेस, एमाले, माओबादी जे जे बन्ने हो बनौँला अहिलेलाई सबै एक ठाँउमा आउँ र देशका लागि लडौँ ।’ 

दुई दिनसम्म चल्ने महाधिवेशनमा देवघाट धामका संरक्षक एवं सन्त समाजका अध्यक्ष अनन्त श्री बिभुषित ज्ञानानन्द सरस्वतीले हिन्दु राष्ट्र बनाउन सबै जुट्नुपर्ने चर्चा गर्नुभयो । उहाँले सनातन हिन्दुधर्मको रक्षा र राष्ट्रको रक्षा नै धर्म भएको बताउनुभयो । 

केन्द्रीय वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले विश्व ओमकार एकता महाअभियानमा संगठित हुँदै जागरण अभियान सञ्चालन गर्नको लागि महासभाको आवश्यकता रहेको बताउनुभयो । 

सो अबसरमा विबेकानन्द सरस्वती, पुर्वमन्त्री धुर्बबहादुर प्रधान, पुर्वमन्त्री दिपकुमार उपाध्याय, पूर्व सांसद शंकरप्रसाद पाण्डे, नयाँगाउँ मुक्तिनाथधामका संरक्षक स्वामी लोकानन्द, दिनबन्धु पोखरेल, लुम्बिनी प्रदेश उपसभामुख मेनका खांण, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सन्त किशोरकुमार गौतम, डा. दिपकप्रसाद बास्कोटा, विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, अरुणकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।