• ७ वैशाख २०८१, शुक्रबार

लागूऔषध ब्राउन सुगरसहित चार पक्राउ

blog

अविनाश चौधरी

धनगढी, चैत २१ गते । कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार चार ग्राम ८८० मिलिग्राम ब्राउनसुगरसहित भारतको लखिमपुर खिरी तिकुनियाका २० वर्षीय सतिश रानालाई टीकापुर नगरपालिका –७ सोनाफाँटाबाट पक्राउ गरिएको छ । 

यसैगरी, बाजुराको खप्तड छेडेदह गाउँपालिका –४ घर भइ हाल धनगढी उपमहानगरपालिका –३ मा डेरामा बस्ने ४० वर्षीय आनन्द धामीलाई धनगढीको विशालनगरबाट पक्राउ गरिएको छ । उनको साथबाट तीन सय ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । 

त्यस्तै, धनगढी उपमहानगरपालिका –३ तिल्के तालबाट १९ वर्षीय ईश्वर साउँदलाई ६५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनुभयो । यसैगरी, २२ वर्षीय शिशिर चौधरीलाई ११० मिलिग्राम ब्राउन सुगरसहित टीकापुरबाट पक्राउ गरिएको छ । 

पछिल्लो समय युवापुस्ता लागुऔषधको दलदलमा फस्दैगएको छ । सीमा क्षेत्रमा लागूऔषधको समस्या बढी रहेको प्रहरीले जनाएको छ । यसैगरी, ज्यान मुद्दाका फरार प्रतिवादी जानकी गाउँपालिका –९ खैरीफाँटाका २७ वर्षीय रमेश माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

माझीसहित खैरीफाँटाका २० वर्षीय राजु सिंहलगायत पाँच जनाले सोही ठाउँका २१ वर्षीय आकाश विक र २७ वर्षीय ललित विकलाई २०७५ पुस ३० गते धारिलो हतियारले प्रहार गरी सख्त घाइते बनाएका थिए । सोही स्थानबाट भागेका उनीहरुमध्ये एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।