• १३ वैशाख २०८१, बिहिबार

‘भियतनामसँग सुखद नतिजाको अपेक्षा’

blog

खेलअघि नेपाल र भियतनामका प्रशिक्षक र कप्तान । तस्बिर : एन्फा

काठमाडौं, चैत २१ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनामसँग नेपालले सुखद नतिजा निकाल्ने अपेक्षा गरेको बताउनुभएको छ ।

पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीच दशरथ रङ्गशालामा बुधबार र चैत २५ गते प्रतिस्पर्धा हुँदैछ ।खेलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक थापाले भियतनाम फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहे पनि नेपालले जितको लागि खेल्ने दाबी गर्नुभयो ।

पछिल्लो समय टोलीले राम्रो तयारी गरेकोले घरेलु मैदानमा राम्रो खेल्ने बताउनुभयो । नेपाली टोलीकी कप्तान एवं गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेकोले जितका लागि खेल्ने बताउनुभयो । ‘‘वरीयता आफ्नो ठाउँमा छ । हामी जित्नकै लागि उत्रने छौँ,’’ सुब्बाले भन्नुभयो । भियतनाम फिफा वरीयतामा ३३औँ र नेपाल एक सय स्थानमा छ । 

यस्तै भियतनामका प्रशिक्षक माइ डक चुङले आफ्नो टोली लामो यात्रापछि नेपालमा आएर फुटबल खेल्नका लागि उत्साहित भएको बताउनुभयो । ‘‘नेपालसँग यसअघि कहिल्यै खेलेको छैन । घरेलु टोलीसँग खेल्न गाह्रो हुन्छ । तरपनि हामी जित निकाल्न मिहेनत गर्नेछौँ,’’ चुङले भन्नुभयो । उहाँले नेपाली टोलीमा स्ट्राइकर सावित्री भण्डारी राम्रो रहेको सुनेको र उनलाई रोक्दै खेल्ने रणनीति बनाएको समेत बताउनुभयो ।

भियतनामकी कप्तान कप्तान हुइङ निङले नेपालविरुद्ध हुने खेलमा जित निकाल्ने लक्ष्यका साथ भ्रमण गरेको बताउनुभयो । वरीयता जस्तो भए पनि खेल प्रतिस्पर्धात्मक हुनेछ, निङले भन्नुभयो । दशरथ रङ्गशालामा समूह ‘सी’ को छनोट खेल हुन लागेको हो ।

छनोटका लागि यसअघि समूहमा रहेका प्यालेल्टाइन र अफगानिस्तानले अन्तिममा नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुन लागेको हो । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।