• १२ वैशाख २०८१, बुधबार

विपन्न परिवारलाई निःशुल्क धारा वितरण

blog

विपन्न परिवारलाई निःशुल्क धारा वितरण गरिंदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, चैत २१ गते । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार विपन्न २० घर परिवारलाई निःशुल्क धारा वितरण गरेको छ । कावासोती नगरप्रमुख विष्णु भुसाल, संस्थाका अध्यक्ष दीपकराज लम्साल, खानेपानीका पूर्व अध्यक्ष भीम कँडेललगायत पदाधिकारीले संयुक्तरुपमा धारा हस्तान्तरण गर्नुभयो ।

धारा जडान, मिटर बक्स, पाइपलगायत जडान गर्दासम्म निःशुल्क हुनेगरी धारा वितरण गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दीपकराज लम्सालले बताउनुभयो । गत वर्ष पनि १० घर विपन्न परिवारलाई धारा वितरण गरेको बताउनुभयो । निःशुल्क धारा पाउँ भनी ५१ घरपरिवारले निवेदन दिएको भए पनि अति विपन्न परिवार छनोट गरी यस वर्ष २० जनालाई धारा वितरण गरिएको छ । बाँकी घरपरिवारलाई पनि वितरण गर्दै जाने उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका –५ का खेमबहादुर थापा निःशुल्क धारा वितरणमा आफू पनि छनोट हुँदा खुसी लागेको बताउनुभयो । अहिलेसम्म आफ्नो धारा नहुँदा समस्या भएको दिनहुँ अरूको धारामा पानी लिन कुर्नुपर्ने समस्या हटेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अरूको धाराबाट पानी खाने र आफूले प्रयोग गर्दा लाग्ने आधा शुल्क तिर्ने गर्दा धेरै समस्या भएको छ ।” उहाँजस्तै कावासोती नगरपालिका ९ का रेसकुमारी महतोले पनि आफ्नो धारा नहुँदा अरूको धाराबाट सवा मिटरबाट शुल्क तिर्ने गरेको र अहिले आफ्नै घरमा धारा जडान गर्दा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा खानेपानीका पूर्व अध्यक्ष भीम कँडेलले स्वच्छ र सफा पानी पाउनु सबैको अधिकार भएको र २० देखि ४० प्रतिशत पानी चुहावट हुनेगरेको बताउनुभयो । विविध कारणले पानी चुहावट भएकाले यसतर्फ सबै लाभग्राही सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, कार्यक्रममा नगरप्रमुख विष्णु भुसालले कावासोतीका बासिन्दा कोही पनि सफा खानेपानीबाट वञ्चित हुन नहुने भन्दै सबै वडासँग सहकार्य गरी धारा वितरण गर्न सहयोग गर्ने बताउनुभयो । धारा वितरण कार्यक्रमको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।