• १२ वैशाख २०८१, बुधबार

सञ्जय र पुष्पालाई हाफम्याराथन उपाधि

blog

हाफम्याराथनमा उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

लिलाराज खड्का

बिर्तामोड, चैत्र २१ गते । झापाको बिर्तामोडमा आयोजित हाफम्याराथनको उपाधि नेपाल आर्मीका सञ्जय श्रेष्ठ र सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जित्नुभएको छ । 

चारपाने झापामा मंगलबार भएको हाफम्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घण्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बन्नुभएको हो । त्यस्तै एपीएफकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बन्नुभएको हो । 

उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार रूपियाँ पुरस्कार पाउनुभयो । पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोले १ घण्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो हुनुभयो । 

आर्मीका मोहनदेव जोशीले १ घण्टा ७ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गर्नुभयो । दोस्रो हुनुभएका सिमिओनले ३१ हजार रुपियाँ पाउनुभयो ।  तेस्रो हुनुभएका  जोशीले २१ हजार रुपियाँ पाउनमेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । 

महिलातर्फ नेपाल प्रहरीकी रेखा विष्टले निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सिकेन्डमा पूरा गर्दै तेस्रो हुनुभयो ।