• ४ वैशाख २०८१, मङ्गलबार

महानगरको फोहोर टेलिकमको कार्यालयमा

blog

नेपाल टेलिकम कार्यालय हाताभित्र फोहोर थुपारेर विरोध गर्दै वीरगञ्ज महानगरपालिका ।

वीरगञ्ज, चैत २१ गते । फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहोर थुपारेर विरोध जनाएको छ ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटक पटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो ।

वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्याक्टर फोहोर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ ।

टेलिकमले अप्टिकल फाइबार बिच्छ्याउने क्रममा बाइपास सडक खण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको  र पटक पटक सडक मर्मत गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहोर फाल्नुपरेको महानगरप्रमुख राजेशमान सिंहले बताउनुभयो । 

कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने उहाँको भनाइ थियो । गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति जनाएकामा हालसम्म पनि सहमति कार्यान्वयन नगरेकाले यस्तो गरिएको महानगरप्रमुख सिंहले बताउनुभयो । रासस