• १५ चैत २०८०, बिहिबार

खोलै सुकाएर विद्युत उत्पादन, किसान मर्कामा

blog

हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित साप्सु खोला । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, चैत २१ गते । खोटाङमा खोलै सुकाएर विधुत उत्पादन गरेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित साप्सु खोलाबाट विधुत उत्पादन गर्नेक्रममा आयोजनाले विधुत उत्पादनका क्रममा खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको हो ।  

६.६ मेगावाट क्षमताको साप्सु खोला जलविधुत आयोजनाको प्रवर्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले खोला नै फर्काएर पानी प्रयोग गरिरहेको छ । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताउनुभयो । आयोजनाले भने नीति मिचेर विधुत उत्पादन गरिरहेको छ । 

जलविधुत आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सु खोलामा बाँध बनाइएको छ । बाँधभन्दा मुनि खोलामा बग्नेगरी पानी छाडिएको छैन । विद्युत् उत्पादनका क्रममा खोलै सुकाएपछि पर्यावरणमा असर पुगिरहेको छ ।

२०७८ मङ्सिर १४ देखि परीक्षण उत्पादन सुरु गरिएको जलविधुत आयोजनाबाट उत्पादित विधुत २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँदयाममा खोलामा पानीको बहाव घटेका कारण थ्री–स्टार हाइड्रोपावर कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । 

विद्युत आयोजनाले खोला सुकाएपछि कृषकहरू समस्यामा परेको बताएका छन् । खेतीमा पानी लगाउन भनेको समयमा नपाइएको स्थानीय कुमार बुढाथोकीले बताउनुभयो । प्राय खोला सुकिरहेको हुने र कुनै समय अनायासै ह्वात्त पानी आउँदा बालबच्चा, पशुपंछी बगाउने त्रास स्थानीयमा रहेको स्थानीय घनश्याम रेग्मीको भनाइ छ ।

यस्तै, साप्सु खोला जलविधुत आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तरबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापेजस्तो बनेको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय बासिन्दाको गुनासोपछि प्रजिअ सेढाईंले कम्पनीका प्रोजेक्ट इन्चार्ज प्रदीप दाहाललाई १५ दिनभित्र घेरबार लगाउन निर्देशन दिएको बताउनुभयो । 

करिब एक अर्ब ५० करोडमा साप्सु खोला जलविधुत आयोजनाको काम सम्पन्न भएको छ । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलाँडाबाट ११० मिटर पेनस्टक मार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर विधुत उत्पादन गरिएको छ । राजापानीको बेलडाँडास्थित विधुतगृहबाट उत्पादित विधुत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब-स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।