• १३ वैशाख २०८१, बिहिबार

रासायनिक मल छिटो ल्याउने पहल हुन्छ : कृषिमन्त्री भुसाल

blog

राष्ट्रियसभाको मङ्गलबार बसेको बैठकमा सहभागी राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषिमन्त्री बेदुराम भुसाललगायत । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, चैत २१ गते। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने पहल भइरहेको बताउनुभएको छ। 

मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसके पनि त्यसलाई ल्याउने कुराको टुङ्गो नभएको सदनलाई जानकारी गराउनु भएको हो। 

मन्त्री भुसालले भन्नुभयो, ‘‘अहिले माननीयजीले धेरै सुझाव दिनुभएको छ। त्यसका निम्ति धन्यवाद दिन चाहन्छु। सबैभन्दा चुरो कुरो चाहिँ मल कहाँ छ भन्ने नै हो। यो वर्ष कति चाहिएला भन्ने अनुमानको आधारमा करिब करिब ७५ प्रतिशत भन्दा बढी हिस्साको चाहिँ टेन्डर भइसकेको छ। सम्झौता भइसकेको छ। केही मल आउने क्रममा छ। केही चाहिँ छिट्टै आउन सक्ला भन्ने आशा गरिएको छ। खास गरिकन यो हाम्रो हातमा मात्रै छैन। त्यसकारणले सक्ला भन्ने शब्द मैले प्रयोग गरेको हुँ।’’

रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्नुहुँदै उहाँले कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रष्ट पार्नुभएको हो। 

अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले सो मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्था सरकारसँग नरहेको मन्त्री भुसालको भनाइ छ। 

मन्त्री भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउन र कृषकलाई ऋण र अनुदान उपलब्ध गराउने कार्यमा दुरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन सांसदलाई आग्रह गर्नुभयो। 

मन्त्री भुसालले भन्नुभयो, ‘‘हामीले मल विदेशबाट ल्याउँछौँ। विदेशको यातायात व्यवस्थाले कस्तो काम गर्छ ? त्यहाँको व्यवस्थापन हाम्रा लागि कति सहयोगी हुन्छ ? भन्ने कुरामा पनि निर्भर गर्छ। अरू अनुदानको विषय, ऋणको विषय, बीमाका विषय छन्। मल आउन ढिलो हुन्छ भन्ने सबैलाई थाहा छ। यसमा सबैको बल, बुद्धि लगाएर यो प्रक्रियालाई छिटो बनाएर ल्याऊ। र, विगतमा जसरी समस्या हुने गरेको छ। त्यस्तो नहोस् भन्नेतर्फ जाऊ भन्ने मेरो कुरा हो।’’ 

मन्त्री भुसालले सरकारले किसानको समस्या समाधानका निम्ति सांसदले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि पटक पटक दोहोर्‍याउनुभयो।