• १६ चैत २०८०, शुक्रबार

नेपालमा ओमिक्रोनका नौ वटा ‘सब भेरियन्ट’सक्रिय : सचेत रहन विज्ञको सुझाव

blog

काठमाडौं, चैत २१ गते। ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ डेल्टा भेरिएन्टसँग मिल्दाजुल्दो भएकोले सचेत रहन सरुवारोग विशेषज्ञले आग्रह गरेका छन्। सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले यो भेरियन्ट डेल्टा भेरियन्टसँग मिल्दाजुल्दो भएकाले सचेत रहन आग्रह गर्नुभएको हो। यसका लक्षण कडा खालका हुने उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ, ‘‘ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ नेपालमा पनि पुष्टि भएको छ। ओमिक्रोनका अन्य भेरियन्टको तुलनामा कडा खालको छ। यसका लक्षण हेर्दा डेल्टा भेरियन्टसँग मिल्दाजुल्दो छ।’’

यो भेरियन्टका साथै ओमिक्रोनका नौ वटा सब भेरिएन्ट नेपालमा संक्रिय भएकाले धेरैलाई संक्रमित बनाउने आशंका छ।  यो भेरियन्ट भारतमा  फैलिरहेको छ। यसका भेरियन्ट फैलिए पनि अस्पतालमा भर्ना हुने दर भने निकै कम भएको डा. पुनको तर्क छ। अहिले नै यो भेरियन्ट कस्तो हो र नेपालमा कसरी फैलिन्छ भन्ने विषयमा तत्काल केही भन्न नसकिने उहाँको भनाइ छ। 

डा.पुन भन्नुहुन्छ,‘‘अहिले नै यो भेरियन्ट यस्तो छ भनेर भन्न सक्ने अवस्था छैन। भारतमा संक्रमणदर बढी भए पनि अस्पतालमा भर्ना हुने दर निकै न्यून छ। त्यसैले, नेपालमा आगामी दिनमा यो भेरिएन्ट कुन रुपमा फैलिन्छ हेर्न बाँकी छ।’’

१.१६ डेल्टा भेरियन्टका लक्षण

यो भेरिएन्टका कारण रुघा, अत्याधिक खोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने र स्वाद र गन्ध हराउने, जाडो हुने जस्ता लक्षण लिएर बिरामी अस्पताल आउने गरेको डा.पुनको भनाइ छ। अन्य भेरियन्टमा जस्तै यो भेरियन्टमा पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, वृद्धवृद्धा, गर्भवती अन्य दीर्घ रोगी जोखिम हुने चिकित्सक बताउछन्। चिकित्सकका अनुसार कोरोना विरुद्धको खोप नलगाएकालाई पनि यो भाइरसले जटिल अवस्थामा पु¥याउँछ। 

बच्ने उपाए

यसका लक्षण नदेखिएमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न चिकित्सकको सुझाव छ। तातो पानी पिउने, बाफ लिने, झोलिलो खानेकुरा खाने र गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न चिकित्सकको आग्रह छ। 

खोप लगाउन आग्रह

बुस्टर डोज लगाएको छदेखि एक वर्षमा यसको प्रभावकारिता कम हुँदै जाने विभिन्न अध्ययनले देखाएको छ। नेपालमा बुस्टर डोज खोप लगाएको लामो समय भएकाले यसको जोखिमबाट बच्न पुन कोरोनाविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ। सरकारले नजिकको स्वास्थ्य संस्थाबाट दोस्रो बुस्टर डोज खोप दिन सुरु गरिसकेको छ। 

आइसोलेसनमा बस्न आग्रह 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले यो भाइरस छिमेकी देश भारतमा फैलिएकाले नेपालमा पनि फैलन सक्ने बताउनुभएको छ। उहाँले रुघा, खोकी र ज्वरो जस्ता कोभिड-१९ का लक्षण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न आग्रह गर्नुभयो।    

कोभिड नियन्त्रण गर्न सबै तहलाई अनुरोध 

प्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा यो भेरियन्छ फैलिन नदिन  मन्त्रालयले सीमाबाट आवत जावत गर्ने शंकास्पद लक्षण भएका यात्रुमाथि निगरानी बढाएको छ। सीमा क्षेत्रका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड-१९ परीक्षण गर्ने व्यवस्था गरेको छ। यदि नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नु परेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको सह प्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो। नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड-१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै स्थानीय तहलाई प्रभावकारी भूमिका खेल्न मन्त्रालयले अनुरोध गरेको छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।