• १६ चैत २०८०, शुक्रबार

सङ्घीय शिक्षा विधेयक ल्याउन सभामुखको आग्रह

blog

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ।

काठमाडौं, चैत २१ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसदमा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको आयोजनामा विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताउनुभयो ।

सभामुख घिमिरेले संसदमा सो विधेयक आएपछि त्यसलाई अघि बढाउने सवालमा आफ्नोतर्फबाट भूमिका निर्वाह हुने स्पष्ट गर्नुभयो । “शिक्षामा भएका कानुन कार्यान्वयन गर्नुपर्छ । ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौँ भनेर तपाईँहरूले छलफल गर्नुपर्छ”, उहाँको भनाइ थियो । “संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो, “आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन ।” उहाँले शिक्षाले देशको भविष्य निर्धारण गर्नेसमेत बताउनुभयो ।

आर्थिक, सामाजिक र सांस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

‘हामी सुधार गर्दछौँ, हाम्रो विद्यालय’ नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न पार्टीका नेता एवम् पूर्व शिक्षामन्त्रीले सामुदायिक विद्यालय सुधार्नुको विकल्प नभएकोमा जोड दिनुभएको थियो । सम्मेलनमा देशभरका सात सय ५३ वटै स्थानीय तहबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको छ । रासस