• ७ वैशाख २०८१, शुक्रबार

'सङ्घीयता र गणतन्त्र पक्षधर शक्ति राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुपर्छ'

blog

काठमाडौं, चैत २१ गते । राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले सङ्घीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

‘‘मुलुकमा विद्यमान हरेक चुनौतीबाट पार पाउन सम्भव भएसम्म राष्ट्रिय सहमति कायम गर्न सक्नु पर्दछ । यो नै राजनीतिमा देखा परेको एउटा विशिष्ट अवस्था हो ।,’’ उहाँले भन्नुभयो, ‘‘कमसेकम २०७२ सालको संविधान, यस संविधानले निर्दिष्ट गरेको गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, लोकतान्त्रिक समावेशिता पक्षधरहरुबीचको राष्ट्रिय सहमति नै देशमा देखा परेको आर्थिक जटिलता अन्त्य, शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउने तथा विकास र समृद्धिलाई जन अपेक्षित गर्न यो एक मात्रै अस्त्र हो भन्ने लाग्छ मलाई । जसका निम्ति प्रधानमन्त्री वर्तमान मन्त्रिपरिषद्को भावना र चाहना अभिव्यक्त भइरहेको प्रष्ट बुझिन्छ ।’’

मङ्गलबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको दाबी समेत गर्नुभयो ।

सांसद दाहालले भन्नुभयो, ‘‘आजसम्म हेर्दा विगतका सरकारले राम्रा कामहरू गर्दैगर्दा कतिपय निर्णयहरू कार्यान्वयन नभएको अवस्थाले जनतामा अविश्वास पैदा हुँदै गएको छ । अहिलेको राजनीतिक परिवेशमा शान्ति प्रक्रियालाई हामीले ठिक ढङ्गले निरूपण गर्न सकेनौँ भने यो धमिलो पानीमा माछा मार्न उद्यत प्रवृत्तिहरू देखा परिराखेका छन् । विभिन्न प्रवृत्तिहरूले यो ढङ्गले टाउको उठाइरहेको बेलामा हामीले यी विषयमा गम्भीरताका साथ सोच्न जरुरी छ भन्ने लाग्छ ।’’

सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।