• १६ चैत २०८०, शुक्रबार

बाँकेका थप दुई स्थानमा सब स्टेसन बन्दै

blog

फाइल तस्बिर

गोविन्द शर्मा

बाँके, चैत २१ । बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेसन निर्माण गर्न लागिएको छ । 

जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेसन निर्माणका लागि टेन्डर भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । सब स्टेसन निर्माणको काम अबको दुई वर्ष सम्पन्न हुनेछ । 

खजुरास्थित जनक शिक्षा सामाग्री केन्द्रसँगै रहेको करिब दुई बिघा जग्गा ३३÷११ केभी क्षमताको सन स्टेसन निर्माण गरिनेछ । जहाँबाट ३३ हजार किलो  भोल्टको डबल सर्किट विद्युत् प्रवाह हुनेछ । 

“खजुरामा निर्माण गरिने सब स्टेसनमा १६÷१६ एमभी क्षमता दुई वटा ट्रान्सफर्मर जडान गरिनेछ,” नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले भन्नुभयो, “११ केभी क्षमताका ८ वटा सर्किटबाट विद्युत् आउटगोइङ हुनेछ । ” सब स्टेशनसँगै कन्ट्रोल भवन, कर्मचारी आवास निर्माण गरिनेछ । 

यसै गरी जानकी गाउँपालिकामा चार बिघा जग्गामा १३२ केभिए क्षमताको सब स्टेसन निर्माण गरिने भएको छ ।  जहाँबाट डबल सर्किट खजुरासँग जोडिनेछ ।  खजुरा र जानकीमा सब स्टेसनको काम सम्पन्न भएमा न्यून भोल्टेज, छिनछिनमा विद्युत् आउने जाने र बर्सातको समयमा विद्युत् अनियमित हुने समस्यामा सुधार आउने प्राधिकरणले जनाएको छ । 

सवस्टेशनले जिल्लाकै समग्र विद्युत् समस्या समाधान हुने तथा औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको जानकी र खजुरामा दिर्घकालिन रुपमा विद्युत् समस्या नपर्ने प्राधिकरणले जनाएको छ । हाल नेपालगन्जको गोसाईगाउँ र बसपार्क तथा कोहलपुरमा सबस्टेसन छन् ।  नयाँ सब स्टेसन निर्माण भए पनि विद्युत् आपूर्ति नियमित, विश्वसनीय र गुणस्तरीय हुने नोलाइट शाखा प्रमुख पौडेलको भनाइ छ ।