• १२ वैशाख २०८१, बुधबार

बिजुलीका पोलमा परालको टौवा

blog

बैतडी समाचारदाता

बैतडी, चैत २१ गते । बिजुली नपुगेको बैतडीको दुर्गम सिगास गाउँपालिकामा करोडौँ रुपियाँ लागतको लघुजलविद्युत् योजना अलपत्र परेका छन्। बत्ती नबलेपछि बिजुलीका पोल स्थानीयवासीले घाँस परालको टौवा बनाउन प्रयोग गरेका छन्। केही पोल खोलामा अलपत्र छन् भने बिजुलीका तारमा कपडा सुकाउने गरिएको छ। स्थानीयवासीले आरनमा पगालेर पोलबाट भाँडाकँुडासमेत बनाउने गरेको पाइएको छ।

 सिगास गाउँपालिका–९, चौखाममा २०७१ देखि निर्माण सुरु भएको ४२ किलोवाट क्षमताको दोगाड लघुजलविद्युत् योजना अहिलेसम्म पूरा हुन सकेको छैन। गाउँपालिकाले करिब डेढ करोड रुपियाँ खर्च गरिसकेको छ तर बत्ती बल्न सकेको छैन। 

बत्ती बाल्न चालु आर्थिक वर्षमा थप ३० लाख रुपियाँ बजेट छुट्याइएको वडाध्यक्ष कृष्णसिंह धामीले बताउनुभयो। अध्यक्ष धामीले सिगास–९, चौखाम गाउँ विकास समिति हुने बेला नै दोगाड लघुजलविद्युत् योजना निर्माण थालिएको बताउनुभयो। सिगास गाउँपालिका–६, थालाकाँडामा २०७४ सालदेखि निर्माण सुरु भएको २२ किलोवाट क्षमताको भेकेखोला लघुजलविद्युत् योजनामा दुई करोड रुपियाँ खर्र्च भइसक्दा पनि बत्ती बलेको छैन। भेकेखोला जलविद्युत्का पोल खोलामा अलपत्र छन् भने बिजुली उत्पादन हुने टर्बाइन पहिरोमा परेको छ। 

२०७८ को कात्तिकमा आएको बाढीले टर्बाइनलगायतका उपकरण पहिरोमा बेपत्ता भएको योजनाका अध्यक्ष तेजबहादुर रोकायाले बताउनुभयो। १५० वटा पोल र तार तयारी अवस्थामा रहेकाले अर्को टर्बाइन किन्न बुटवल जाने तर्खरमा रहेको उहाँले बताउनुभयो। छ वर्षसम्म बिजुली नबलेपछि भेकेखोलाको बिजुलीको पोलमा स्थानीयवासीले घाँस पराल थुपारेका छन्। सिगास गाउँपालिका–६, कै अर्को थलालीगाड लघुजलविद्युत् योजनाको अवस्था पनि उस्तै छ। 

विद्युत्मा ११ करोड खर्च, बस्ती अँध्यारो 

सिगास गाउँपालिकामा नौवटा वडा छन्। गाउँपालिकाले उज्यालो गाउँ बनाउन २०७४ देखि करिब ११ करोड रुपियाँ खर्च गरिसकेको छ। उपभोक्तामार्फत निर्माण गरिएका लघुजलविद्युत् र राष्ट्रिय प्रसारण लाइनबाट खरिद गरिएका बिजुलीका पोल र तार अलपत्र परेका छन्। सिगास गाउँपालिका–१, २ र ३ नम्बर वडामा उपभोक्तामार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न खरिद गरिएका बिजुलीका तार र पोल गुणस्तरीय नभएपछि हावाबाट गल्र्यामगुर्लुम ढलेका छन्। विद्युत् योजना अलपत्र रहेको विषयमा गुनासो आएकाले कडाइका साथ अनुगमन गर्ने सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले बताउनुभयो। उहाँले आफू भर्खरै २०७९ को स्थानीय तहको निर्वाचन जितेर आएपछि प्रत्येक वडाको अनुगमन गरिरहको बताउनुभयो। 

२५ हजार जनसङ्ख्या अँध्यारोमा 

सिगास गाउँपालिकासित सीमा जोडिएका छिमेकी पालिकामा चारैतिर झिलिमिली बत्ती बले पनि सिगास गाउँपालिकाका २५ हजार जनसङ्ख्या छिमेकीको बत्ती हरेर अँध्यारो रात बिताउने गरेका छन्। सिगास गाउँपालिकाको पूर्वमा डोटीको आदर्श गाउँपालिका र सायल गाउँपालिका, पश्चिममा बैतडीको पाटन नगरपालिका, उत्तरमा बझाङको बित्थडचिर गाउँपालिका र दक्षिणमा डडेलधुराको नवदुर्गा गाउँपालिका झिलिमिली बत्ती बलेको छ ।  सिगास गाउँपालिका–१ सँग जोडिएको बैतडीको छिमेकी पाटन नगरपालिका–८, खोड्पेमा बत्ती बलेको २३ वर्ष भयो।