नेपाली संस्कृतिमा उपभोक्तावादी संस्कृति

ishowar chauhanईश्वर चौहान

 


संस्कृति र सांस्कृतिक स्वरूप
सामान्यतः हाम्रो सांस्कृतिक विमर्श समाज वा राष्ट्रमा प्रचलित रीतिरिवाज, चालचलन, आचरण, विचार, धर्म, कला, संस्कार, संस्कृति, साहित्य आदि हो । समाज निरपेक्ष रहन नसक्ने मानवीय व्यवहारको समुच्चय नै संस्कृति हो । यो जैविक वा प्राकृतिक हुन सक्दैन । केवल समाज वा सामाजिक व्यवस्थाभित्रको निर्मिती अर्थात् आचरण हो । माक्र्सवादी दृष्टिकोणमा पनि सामाजिक अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्बनलाई संस्कृति मानिन्छ । खासगरी उत्पादन प्रक्रिया र उत्पादन सम्बन्धद्वारा निर्मित आर्थिक आधारको उपरिसंरचनामा हुने वैचािरक स्वरूप नै संस्कृति हो । तसर्थ आधार रचनाका अतिरिक्त देखापर्ने अधिरचनाका सम्पूर्ण पक्षहरू संस्कृतिसापेक्ष हुन्छन् । नवमाक्र्सवादी चिन्तक इ.पी. थोम्प्सनको विचारमा संस्कृति त्यो संश्लिष्ट रूप हो; जसभित्र समाजका मान्छेहरूले आत्मसात् गर्ने ज्ञान, विश्वास, आचरण र अन्य क्षमता पर्दछन् । यसर्थ स्थान, काल र परिवेशसापेक्ष संस्कृतिको विकास भएको पाइन्छ । यही नै समाजको पृथकीकृत कसी हो ।
नेपाल भौगोलिक एवं प्राकृतिक रूपमा जति विविधतामय छ, त्यसैगरी सांस्कृतिक विविधताको केन्द्र पनि हो । भाषा, धर्म, जात, जीवनशैली, वर्ग, लैङ्गिकता, सङ्गीत, कला, साहित्य, उपसंस्कृति, उपभोक्ता संस्कृति आदि संस्कृतिसँग गाँसिएका पक्षहरू पनि छन् । यही विविधताबीचको एकता सामाजिक रूपान्तरणको आधारशील बन्न सक्नुपर्दछ । यही एकताले भातृत्व र राष्ट्रिय समृृद्धिलाई टेवा पु¥याउनु पर्दछ । एउटा वर्ग वा पक्षले अर्काे पक्षका सम्भावनाहरूलाई निमेट पार्नु मानवीय स्वभावका अभिलक्षण होइनन् ।
समाज रूपान्तरणको कारक राजनीति हो । राजनीतिले नै आधार र अधिरचनाहरूको सही लक्ष्यगमन गराउँछ । यसबाट जन्मने विचारधारा वा भोगाइ संस्कृति हो । राजनीति वा नेतृत्ववर्गको अकर्मणीयताले सम्भावनाहरू चुकेका छन्, बलात्कृत भएका छन्, परावैयक्तिक चेतना ह्रास आएका छन् । यसर्थ विश्व मानचित्रको त्यो विशिष्ट भूगोल नेपाल र त्यहाँको संस्कृतिको अवमूल्यन भएको छ ।
संस्कृति समाजसापेक्ष कुरा हो । समाजको स्वरूपअनुसार सांस्कृतिक स्वरूप पनि फरक पर्दछ । नेपाल र नेपाली संस्कृतिको विविधतामय स्वरूप विश्वका अन्य मुलुकमा कमै मात्रामा पाइन्छ । यी सांस्कृतिक विविधताहरूले नेपाल विश्वको अनुसन्धानको केन्द्र बन्न सक्दछ । आर्थिक समृृद्धिको बाटो अवलम्बन गर्न सक्दछ । यसका लागि राजनीतिक चेतना निस्वार्थ अभिवृद्धि हुनु जरुरी छ । जनताको परम्परित आस्था÷संस्कृतिलाई राजनीतिक विषय बनाउन सकिन्छ तर मत प्राप्तिको आधारमा निम्न स्तरको प्रचारबाजीले राम्रो गर्दैन । राजनीतिकर्मीको संस्कृतिसम्बन्धी चेतनामा परिष्कार हुनु जरुरी छ । जनतालाई सांस्कृतिक विविधताका आधारमा फुटाएर होइन, जुटाएर विकासको सम्भावना छ । सांस्कृतिक विविधताबीचको एकता नै समग्र जनसरोकारको विषय हो, यसर्थ देशको विकासका लागि संस्कृति र सांस्कृतिक आचरणमा सुधार गर्नु आवश्यक छ ।
उपभोक्तावादी संस्कृतिको नेपाली स्वरूप
उत्तरआधुनिकतावाद एवं भूमण्डलीकरणको प्रभावबाट सांस्कृतिक क्षेत्र अछुतो छैन । राष्ट्रवादोत्तर वैश्विकता, उत्तरऔपनिवेशिकता, उत्तरसंरचनावादी वा उत्तरमाक्र्सवादी चिन्तनले संस्कृतिसम्बन्धी नवीनतम विचारधाराको जन्म र प्रयोग हुँदै गएको छ । हरेक वस्तुको उपभोगका आयामहरू फेरिएका छन् । संस्कृति र व्यवहारमा वैयक्तिक चिन्तनहरू हावी भएका छन् । जीवनशैली भोलिलाई भन्दा आजलाई हो भन्नेतर्फ उन्मुख छ । सञ्चय र वितरणभन्दा उपभोग प्रमुख बनेको छ । यसरी सामाजिक सांस्कृतिक अधिरचनाका हरेक तहमा उपभोग गर्ने स्वभावको विकास भइरहेको छ । यही नै उपभोक्तावादी संस्कृति हो ।
नेपाल विकासोन्मुख मुलुक हो भन्ने कण्ठ्य आवाज ध्वनित भइरहन्छ । हामी नेपालीहरू यथार्थ बोध गर्न नसकी स्वाङ र ढर्रामा अगाडि बढ्न कम्ता छैनौं । हाम्रा सुइँखुट्टे स्वरूपले भूमण्डलीय अतिरञ्जना बोकिरहेका छौँ । मौलिक संस्कृति आफ्नै लागि अपाच्य बन्दै गएको छ । परम्परित सांस्कृतिक प्रचलनका नवीनतम् संस्करण विकसित भएका छन् । राजनीति सबै पक्षको परिवर्तनको कारक हो भन्नेमा दुईमत छैन । हाम्रा नेताहरू आफू जित्न र टिक्न राजनीति गर्दैछन् । जनता जित्ने र टिकाउने राजनीति गर्न नसक्दा अवैज्ञानिक जीवन शैलीको प्रभाव बढ्दो छ । आधारभूत आवश्यकताको परिपूर्तिविनाको उपभोगले दूरगामी प्रभाव पार्ने निश्चित छ । हाम्रो लगानी उत्पादनमुखी छैन, उपभोगमुखी छ । यो उपभोक्तावादी सांस्कृतिक प्रचलनले हाम्रो जस्तो मुलुकमा प्रभुत्ववर्ग खुसी रहला तर सर्वहारा वर्गको हित गर्दैन ।
नेपालमा विभिन्न क्षेत्रमा उपभोक्तावादी संस्कृतिक स्वरूप विकसित छन् । शहरी क्षेत्रमा हाउजिङ र मल (बहुकोठे बजारभवन) संस्कृति बढ्दो छ । सामान्य घर व्यवस्थापन गर्न नसक्ने तथा किनमेलमा सामान्य बजार नधान्ने हाम्रो समग्र आर्थिक पृष्ठभूमि त्यसतर्फ अग्रसर भएको छ । त्यस्ता क्षेत्रको लगानीबाट उत्पादन हुँदैन । यसले व्यवस्थापक र उपभोक्ता दुवैलाई फाइदा गर्दैन । विलासी शैलीमा विकसित उपभोक्तावादी संस्कृतिले सिङ्गो नेपाललाई बन्धक बनाउने निश्चित छ । नीतिनिर्माणको तहबाटै नियन्त्रण गरी पुनर्उत्पादनमूलक क्षेत्रमा लगानी गराउन वातावरणसाथ प्रेरित गर्नुपर्ने आवश्यकता देखिन्छ ।
तीज र जन्मोत्सव संस्कृतिका नवीन आयामहरू
नेपालीहरूको ऐतिहासिक सांस्कृतिक प्रचलनका अनेक पर्वहरू छन् र तिनीहरू मनाउने मौलिक स्वरूपहरू पनि । यस्ता संस्कृतिहरूलाई रुढिवादी प्रचलन भन्ने वा परम्परित संस्कार भन्ने जमात पनि कम छैन । अपौरुषीय संस्कृतिभित्रको वैज्ञानिक सत्यको तागत पक्कै कमजोर छैन । भाइ फुटे गँवार लुटे भने झैँ हामी सांस्कृतिक आधारमा कित्ताकाट गर्दैछौं । यसको प्रमुख कारण उपभोक्तवादी चिन्तन नै हो । हामीले यही अनेकन सांस्कृतिक स्वरूप वा परम्पराभित्रको एकताबाट समृद्धि खोज्नु बुद्धिमानी होला । हाम्रो मौलिक संस्कृति विश्वसामु अनुसन्धानको केन्द्र बन्ने सम्भावना पनि जीवितै छ । यसलाई आर्थिक समृद्धिसँग जोड्नु आवश्यक छ । यही महानताभित्रको सङ्कीर्णतालाई चिर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।
नेपाली मौलिक संस्कृतिका नवीन आयामहरू उदय भएका छन् । समय सान्दर्भिक तीज परम्पराका स्वरूपहरूले यही पुष्टि गर्दछ । वास्तवमा नेपाली हिन्दू नारीहरूले तीजको व्रत बस्ने र मनोच्छा पूरा गर्ने परम्परित विश्वास छ । परम्परागत मान्यता विपरीत तीजको पछिल्लो संस्करणमा देखिएका भड्किला स्वरूपहरूले मौलिकतालाई निचोरेको छ । खानपान, लत्ताकपडा, गहनागुरिया आदिको प्रदर्शन गर्न बेजोडको होडबाजी छ । महिनौं अगाडिदेखि मनाउने सांस्कृतिक पर्वको यो रूपले हुँदाखाने वर्गलाई आघात पुग्नुका साथै सांस्कृतिक गरिमा घट्ने निश्चित छ । सरसफाइ गरी शुद्धचित्तका साथ स्वस्थ्यकर भोजन ग्रहण गर्ने र व्रत बसी मनाइने पर्वको आयाम फेरिनु अस्वाभाविक देखिन्छ । परम्परागत संस्कृति परिवर्तन गरी नारीमैत्री पर्वका रूपमा मनाउनु वर्तमान आवश्यकता हो । समता र समानताका मुद्दाहरूको विजयका लागि विश्वका नारीहरूको मुक्तिकामी आवाजकासाथ नेपाली नारीको उपस्थिति नै प्रमुख बन्दै छ ।
यस्तै, जन्मोत्सव पौरस्त्य परम्पराको निकै पुरानो संस्कृति हो । हाम्रो प्रचलनअनुसार जन्मदिन निष्काम कर्मको आरम्भ गर्ने अवसर हो । शुद्धमनले शुद्ध सामग्रीसाथ जीवनको अग्रगामी सङ्कल्पको क्षण हो । बत्ती बालेर फूलपातीले पूजा गर्नु कत्तिको वैज्ञानिक छ, यो स्वमूल्याङ्कनको विषय हो । यद्यपि पाश्चात्य संस्कारभन्दा पृथक् पक्कै छ । हामी आफ्नोपन छोडेर नक्कल गरिरहेका छौं । बासी ‘केक’मा बत्ती बालेर निभाउने संस्कारभित्रको वैज्ञानिक रहस्य बुझ्न सकेका छैनौं । घोडा चढेको देखेर धुरी चढ्दा कुरीकुरी लाग्नु पर्ने हो । मैन पग्लेको बासी केकको जुठोपूरो खानुको आत्मीयता र वैज्ञानिकताभन्दा आफ्नो मौलिकता बिर्सिएको भन्नु उपयुक्त होला । यही समग्रता नै उपभोक्तवादी संस्कृतिको नवीन आयाम हो । यसैगरी हाम्रा अनेकन पौरस्त्य संस्कृतिभित्रको विनिर्माण र विभ्रम उपभोक्तावादी संस्कृतिकै उपज हो । यसर्थ हाम्रा सांस्कृतिक पर्वहरूको वैज्ञानिक पक्षको खोजी गरी समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यगमन गर्ने आधार तयार गर्नु आजको आवश्यकता हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds