• १२ वैशाख २०८१, बुधबार

लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन गरिँदै

blog

भैरहवा समाचारदाता

भैरहवा, चैत २० गते  । लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन र विकासमा सहयोग पु-याउने उद्देश्यले विश्व बौद्ध सम्मेलन आयोजना गरिने भएको छ। लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले बुद्ध जयन्तीको अवसर पारेर सो सम्मेलन आयोजना गर्ने तयारी भइरहेको बताउनुभयो। 

“विगतका केही वर्षयता लुम्बिनीमा हुँदै आएको विश्व बौद्ध शिखर सम्मेलन रोकिएको छ,” उहाँले भन्नुभयो, “यस पटक बुद्ध जयन्तीको अवसर पारेर सम्मेलन गर्ने तयारी थालेका छौँ।” सम्मेलन बुद्ध जयन्तीको दिन आगामी अक्टोबरमा हुनेछ। 

सो सम्मेलनमा विभिन्न देशका प्रबुद्ध व्यक्तिलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ। यसले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन, विकास र प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास विकास कोषले लिएको छ। 

विगतमा भएका सम्मेलनले लुम्बिनीको गरिमालाई विश्वबजारमा थप उचाइमा पु-याएको थियो। कोरोना महामारीका कारण पछिल्ला वर्षमा उक्त सम्मेलन रोकिएको छ।

बौद्धिष्ट मुलुकहरूलाई प्राथमिकतामा राखेर शिखर सम्मेलनमा बोलाइएको छ। नेपाल सरकारका उच्च अधिकारीसहित विश्वका उच्च तहका अधिकारी सम्मेलनमा सहभागी हुने कोषका सदस्य–सचिव शाक्यले बताउनुभयो। 

भारत, चीन, श्रीलङ्का, म्यानमार, थाइल्यान्डलगायतका मुलुकलाई निमन्त्रणा गरिएको छ। सम्मेलनको तयारी स्वरूप कोषको बैठकले उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको नेतृत्वमा लुम्बिनी सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको सो बैठकले विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणका लागि आवश्यक प्रक्रियासमेत अघि बढाउने निर्णय गरेको छ। 

सोही बैठकले आगामी बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने विभिन्न देशका नागरिकलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय गरेको छ।