• १३ वैशाख २०८१, बिहिबार

नागरिकलाई घरमै उपचार सेवा

blog

रुकुमपूर्व समाचारदाता 

रुकुमपूर्व, चैत २० गते  । पुथाउत्तरगङ्गा गाउँपालिकाले घरघरमै आधारभूत स्वास्थ्य सेवाको पहुँच कार्यक्रम सञ्चालनमा ल्याएको छ। यसका लागि ‘शहीद स्वास्थ्य कार्यक्रम’अन्तर्गत अध्यक्ष स्वास्थ्य कार्यक्रम र उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गरी घरघरमै उपचार सेवा सुरु गरेको हो।

यस गाउँपालिकाको १४ वटै वडाका नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्ने र गाउँ/टोलमै आधारभूत औषधि उपचार तथा रोगको पहिचान गर्न थालिएको छ। सो सेवा प्रभावकारी बनाउन करारमा नियुक्त १४ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको पालिका अध्यक्ष पुनीराज घर्ती मगरले बताउनुभयो।

“नागरिक स्वास्थ्य भएमात्रै विकासका अरू काम अघि बढाउन सकिन्छ,” अध्यक्ष घर्तीमगरले भन्नुभयो, “यसकारण हाम्रो प्राथमिकतामा सुरुदेखि नै स्वास्थ्य क्षेत्र परेको छ।”

चालु आर्थिक वर्षको सुरुदेखि घुम्ती स्वास्थ्यकर्मी परिचालन गरिएको छ। घरघरमै पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दा उहाँहरूमा स्वास्थ्य सचेतनामा वृद्धि भएको अनमी सृष्टि पुन मगरले बताउनुभयो।

महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा मगरले बताउनुभयो। अध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमाबाट लाभ प्रदान गर्ने कुरामा सहजीकरण गरिरहेको छ। 

तकसेरा आधारभूत अस्पतालको प्रत्यक्ष निगरानीमा वडाका प्रत्येक घरमा पुगेर महिनामा एक पटक परिवारका सदस्यको स्वास्थ्य परीक्षण, अपाङ्ग, गर्भवती तथा नवजात शिशुको स्वास्थ्य जाँच, नसर्ने रोगहरूको परीक्षण, कुपोषण मापन, दीर्घरोगीका लागि औषधि व्यवस्थापन र आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक समीर गिरीले जानकारी दिनुभयो।