• १६ चैत २०८०, शुक्रबार

जङ्गल सफारीबाट पर्यटक आकर्षित

blog

मीना कँडेल

कावासोती, चैत २० गते । पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जिप सफारी सेवाको सुरुवात गरिएको छ। पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली पिप्रहरबाट पहिलो पटक निकुञ्जमा जङ्गल सफारी गरिएको हो।

पछिल्लो समय जङ्गल सफारीप्रति पर्यटकको मोह बढ्दै गएकोले होटल, होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरअन्तर्गत गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्मको नयाँ मार्गमा जिप सफारी सुरु गरिएको हो।

नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्यान्ड जङ्गल रिसोर्टसम्म करिब ५५ किलोमिटर लामो पर्यटन मार्गको उद्घाटन भएसँगै देवचुली–१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारीको सुरुवात गरिएको छ।

नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएसँगै वन्यजन्तुको माध्यमबाट देवचुलीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने नगरप्रमुख हरिप्रसाद न्यौपानेले विश्वास व्यक्त गर्नुभयो।

निकुञ्जको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा लाग्न सके आमउपभोक्ताको जीविकोपार्जनमा पनि थप टेवा पु-याउने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो। जिप सफारीले नवलपुरमा पर्यटन प्रवद्र्धनमा यसले मुख्य भूमिका खेल्ने बताउनुभयो। 

जङ्गल सफारी वन्यजन्तु पारखीका लागि महत्त्वपूर्ण साबित हुने जङ्गल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धिताल बताउनुहुन्छ। 

निकुञ्ज क्षेत्रमा जङ्गल सफारी अगाडि बढाउनका निम्ति विगतका दिनदेखि गरेको मेहनतले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो। पर्यटनको विकासका लागि सम्पूर्णको साथ र सहयोगको आवश्यकता रहेको देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसे बताउनुहुन्छ।