बिमस्टेकका लागि सुरक्षा कडा

देवबहादुर कुँवर

काठमाडौँ, भदौं ६ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका लागि काठमाडौंँ उपत्यकाको सुरक्षा ब्यवस्था प्रभावकारी बनाइएको छ ।
भदौ १४ र १५ गते काठमाडौंँमा उक्त सम्मेलन हुँदैछ । गृह मन्त्रालयले सम्मेलनलाई केन्द्रित गरेर थप पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको छ । सम्मेलनलाई सफल, सुरक्षित र उपलब्धिमूलक बनाउन विशेष सुरक्षा योजना समेत तयार गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
सम्मेलनमा सहभागी हुन आउने विशिष्ट अतिथि, अतिथिको सवारी सञ्चालन तथा सम्मेलनस्थलको सुरक्षाका लागि नेपाली सेनाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्रालयले शिखर सम्मेलनमा सहभागी हुने विभिन्न राष्ट्रका प्रमुख तथा विशिष्ट अतिथिको सुरक्षाका लागि तीन दिने विशेष सुरक्षा योजना तयार पारेको छ । बिमष्टेक सम्मेलनमा सदस्य राष्ट्र भारत, म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलङ्का र नेपालको सहभागिता हुनेछ ।
सम्मेलनमा सहभागी हुन ती देशका राष्ट्र प्रमुख १३ गते नै काठमाडौं आइपुग्ने कार्यक्रम छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सम्मेलनस्थल होटल सोल्टी लगायतका स्थानमा १० गतेदेखि नै सुरक्षा ब्यबस्था प्रभावकारी बनाउने जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अति विशिष्ट पाहुनाहरू ओहोर दोहोर गर्ने सडकमार्ग र वासस्थान (होटल)हरुमा उच्च सुरक्षा सतर्कता अपनाइनुका साथै काठमाडौं उपत्यकाको सुरक्षा ब्यवस्थामा कडा हुने महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो ।
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन सडकचोक गल्ली, सार्वजनिक यातायात, उपत्यकाको विभिन्न नाकामा ठूलो संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । बिमस्टेक सम्मेलनस्थल सेनाको कमाण्डमा रहनेछ ।
त्यस्तै, सम्मेलनलाई लक्षित गरेर सडकका खाल्डा पुर्नेदेखि विजुलीको पोल र तार मिलाउने कार्य पनि भइरहेको छ । सडक तथा भित्ताको मर्मतसम्भार र रंगरोगन कार्य जारी रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुशपति धर्मशालामा पुग्ने सूचना आएसँगै पुशपतिनाथक्षेत्रमा रंगरोगन भइरहेको छ ।
सडक विभाग, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र काठमाडौं महानगरपालिकाको संयुक्त समन्वय टोलीले सडकका खाल्डा पुर्नेदेखि कालोपत्रे गर्ने, यत्रतत्र लत्रिएका केवुल तथा विजुलीका तार मिलाउने कार्य गरिररहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds