• ७ वैशाख २०८१, शुक्रबार

नियमावली पारित गर्न सहमतिको खोजी

blog

काठमाडौँ, चैत १३ गते । प्रतिनिधि सभाको कार्यसञ्चालन नियमावलीलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन प्रमुख राजनीतिक दल सकारात्मक देखिएका छन्।

प्रचलित मान्यता र यसअघिका व्यवस्थामा रहेका सभामुखका विशेषाधिकारसमेत कटौती गर्ने गरी सत्तापक्षका सांसदले संशोधन दर्ता गरेपछि नियमावली पारितको बाँकी प्रक्रिया अघि बढेको छैन। संशोधनलाई सहमतिमा टुङ्गो लगाएर पारित गर्न सभामुख देवराज घिमिरेको पहलमा राजनीतिक परामर्शसमेत सुरु भएको छ। आइतबार राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र संशोधनकर्ता सदस्यसँग परामर्श सुरु भएको हो। 

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले नियमावलीमा सहमति खोज्न पहल सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, “परेका संशोधनबारे संशोधनकर्ता सदस्य र दलका प्रमुख सचेतक तथा सचेतकसँग परामर्श भएको हो। अब राजनीतिक दलमा आन्तरिक रूपमा परामर्श भएपछि पुनः छलफल हुनेछ।”

नियमावलीमाथि संशोधन दर्ता गर्नुभएका सदस्यले आफ्नो प्रस्तावबारे धारणा राखेका छन्। ती धारणा सुनेपछि अब दलले आन्तरिक रूपमा संशोधनकर्तासँग छलफल गर्नेछ। आन्तरिक छलफलपछि सभामुख र प्रमुख सचेतक तथा सचेतकसँगको परामर्शमा नियमावली टुङ्गोमा पु-याउने दलीय समझदारी बनेको हो।