• १६ चैत २०८०, शुक्रबार

मिटरब्याजपीडित भन्छन् : लिएको ऋणको दशौँ गुणा तिरे पनि सकिएन

blog

महोत्तरीको बर्दिबासदेखि ११ दिनको पैदलयात्रा गरी न्याय माग्न राजधानी काठमाडौँ आएका मिटरब्याजपीडितहरू आइतबार मातातीर्थमा । एक पीडित महिला चार महिनाको शिशुसँगै । तस्बिर : विकास द्वारे

काठमाडौँ, चैत १३ गते । महोत्तरीको बर्दिबासबाट हिँडेको ११ दिनपछि मिटरब्याजपीडित आइतबार काठमाडौँ आइपुगेका छन् । चन्द्रनिगाहपुर, हेटाैँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ७३ जना मिटरब्याजपीडित काठमाडौँको मातातीर्थ मन्दिरमा बास बसेका छन् ।

गत चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल यात्राबाटै काठमाडौँ हिँडेका ४२ जना महिला, २७ जना पुरुष र चार जना बालबालिका छन् ।

मिटरब्याजीविरुद्ध सङ्घर्ष गर्दै आएको सो टोलीको योजना प्रधानमन्त्रीलाई भेटी आफ्ना समस्या र गुनासोसँगै ज्ञापनपत्र बुझाउने छ । तर त्यसअघि नै पीडितका समस्या समाधान गर्न गृह मन्त्रालयका सहसचिवसहितको टोली उनीहरू बसेको स्थान मातातीर्थ पुगी आइतबार साँझ नै छलफल गरेको छ ।

१४–१५ वर्षअघि आमाबुवाले लिएको ऋणको दशौँ गुणा तिरे पनि झन् रकम बढाएर उठिबास लगाएको भन्दै पीडितहरूले मिटरब्याजीलाई कडा कारबाहीको माग गरेका छन् । 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सरकारी अधिकारी तथा पीडितहरूबीच समस्या र सरकारका तर्फबाट पीडितलाई न्याय दिलाउन गरिएका प्रयासबारे जानकारीसहित छलफल भएको थियो । छलफलका क्रममा पीडितले विगतमा पनि मिटरब्याजविरुद्ध लामो सङ्घर्ष गर्नुपरेको,  सरकारका तर्फबाट गरिएको प्रतिबद्धताअनुसार पीडितले अझै न्याय पाउन नसकेको गुनासो गरेका थिए । 

यस पटक आफ्ना मागलाई थप व्यवस्थित र सङ्गठित गरी उच्चस्तरीय वार्ताबाटै समस्या समाधान गर्ने योजना पीडितहरूको छ । प्रवक्ता बस्नेतले देशभरबाट तीन हजार तीन सयभन्दा बढी मिटरब्याजपीडितको उजुरी सङ्कलन भएको र तीमध्ये झन्डै पाँच सयको हाराहारीमा समाधान भइसकेको बताउनुभयो ।

त्यही हाराहारीको सङ्ख्याका उजुरी अदालती प्रक्रियामा गइसकेका छन् । झन्डै एक हजार उजुरीको अनुसन्धान भइरहेको बस्नेतले बताउनुभयो । बाँकी रहेका मुद्दामा भने कानुनी जटिलता देखिएको छ । कतिपय पीडितले मिटरब्याज लिँदा आफ्नो चलअचल सम्पत्तिलाई कानुनी रूपमा दृष्टिबन्धक गरेको र एक जनाबाट अरू व्यक्तिमा बेचबिखन भइसकेकाले फिर्ता गर्न सहज देखिएको छैन ।

पीडितका समस्या समाधान गर्न गृह मन्त्रालयका सहसचिवसहितको टोली उनीहरू बसेको स्थान मातातीर्थ पुगी आइतबार साँझ नै छलफल गरेको छ । 

यद्यपि गृह मन्त्रालयले मिटरब्याजको समस्या सधैँका लागि अन्त्य गरी पीडितलाई न्याय दिलाउन विधेयक तर्जुमाको प्रक्रिया थालेको छ ।

यससँगै पीडितहरूलाई उच्चस्तरीय भेटघाट तथा छलफलमार्फत छिटो समाधान गराउने पहल पनि भइरहेको बस्नेतले बताउनुभयो । पीडितहरूले आफ्ना माग पूरा नभएसम्म अब घर नफर्कने अडान राखेका छन् ।  १४–१५ वर्षअघि आमाबुवाले लिएको ऋणको दशौँ गुणा तिरे पनि झन् रकम बढाएर उठिबास लगाएको भन्दै पीडितले तमसुक व्यवस्था खारेज गरी मिटरब्याजीलाई कडा कारबाही गर्न माग गरेका छन् । साथै जबर्जस्ती लुटिएको आफ्नो सम्पत्ति फिर्ता हुनुपर्ने माग अघि सारेका छन् ।