• ६ चैत २०८०, मङ्गलबार

छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, चैत १३ गते । शिक्षक नियुक्त नै नभएका व्यक्तिलाई सरुवापत्र दिएर शिक्षक कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अम्मरप्रसाद भट्टसहित छ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगका अनुसार भट्टले मनकाकुमारी अवस्थीलाई जिल्लाको सलसेनास्थित हुनैनाथ आधारभूत विद्यालयको व्यवस्थापन समितिबाट नियुक्त भएको भनी आफैँ टिप्पणी उठाएर अभिलेखीकरण गर्न प्राविधिकलाई निर्देशन दिनुभएको थियो। भट्टले अवस्थीलाई बलैराज निम्न माध्यमिक विद्यालयमा सरुवा गरेको भनी पत्र बनाएको र तलबलगायतका सुविधाबापत ७४ हजार ९२० रुपियाँ निकासा दिनुभएको थियो। 

साथै सो कार्यमा संलग्न भएको आरोपमा आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालयका प्राविधिक सहायक स्वर्गीय सञ्जयकुमार दनुवार, शिक्षक नै नभए पनि झुटो विवरणका आधारमा तलब सुविधा लिने मनकाकुमारी अवस्थी, कार्यालयका तत्कालीन स्रोतव्यक्ति हरिनाथ, शिक्षक अवस्थीलाई सरुवा भएर आएको भनी हाजिर गराउने बलैराज निमाविका प्रधानाध्यापक नरबहादुर कुँवरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगले बलैराज निमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीविरुद्ध पनि मुद्दा दायर गरेको छ। मुद्दा दायर गरिएका छ जनालाई नै ७४ हजार ९२० रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ। 

यसैबीच आफूले दायर गरेको घुस रिसवतसम्बन्धी दुई मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति चित्त नबुझेपछि आयोगले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। 

आयोगले सुरेन्द्रबहादुर थापालाई प्रतिवादी बनाएर पाँच लाख रुपियाँ बिगोसहित दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएर गत जेठ १६ गते निर्दोष ठहर गरेको थियो। यस्तै विशेष अदालतले कमलप्रसाद पराजुलीलाई दिएको सफाइप्रति असन्तुष्टि जनाउँदै आयोगले सर्वाेच्चमा पुनरावेदन गरेको छ। विशेषले पराजुलीलाई गत असार १३ गते निर्दाेष ठहर गर्दै सफाइ दिएको थियो।