• १६ चैत २०८०, शुक्रबार

विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध हो : सञ्चारमन्त्री शर्मा

blog

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : एनएएन

काठमाडौं, चैत १२ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको हुने बताउनुभएको छ।

आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो। आइतबार प्रतिनिधि सभामा छलफलका लागि प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताउनुभएको हो। 

शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेले यसको विरोध गरेको बताउनुभयो। उहाँले यो विधेयक विगतमा शान्ति सम्झौता गर्ने सबैको साझा विषय भएको बताउनुभयो। उहाँले यो विषय सबै नागरिक र सबै पार्टीको पनि विषय भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘यो विषयलाई पूर्ण रुपमा असहमति भन्ने कुरा त शान्ति प्रक्रियाको विरुद्धको कुरा भयो। हामी शान्ति प्रक्रियाको विरुद्धमा कि समर्थनमा भन्दा हामी शान्ति प्रक्रियाको समर्थनमा छौँ। पूर्ण रुपमा शान्ति प्रक्रिया मन नपराउने र शान्ति प्रक्रिया बेठिक छ भन्ने पनि हुनसक्छन्। तर यो हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो। सँगसँगै शान्ति प्रक्रिया हामी सबै नागरिकको भएको हुनाले सबै नागरिक र सबै पार्टीको साझा विषय हो।’’

उहाँले विधेयकको सम्बन्धमा राजनीतिक दलका बीचमा सहमति जुटाउने अधिकतम कोसिस हुने बताउनुभयो।