• ११ वैशाख २०८१, मङ्गलबार

एसइईका लागि सोह्र जना केन्द्राध्यक्ष

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १२ गते । ताप्लेजुङमा चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सोह्र जना केन्द्राध्यक्ष तोकिएको छ । जिल्लामा परीक्षा सञ्चालन गर्न निर्धारण भएका १६ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो । 

जिल्ला परीक्षा समन्वय समितिको बैठकले एक महिलासहित १६ जना केन्द्राध्यक्ष तोकेको ताप्लेजुङस्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । प्रमुख भट्टराईका अनुसार फुङ्लिङ नगरपालिकाको भानुजन माध्यमिक विद्यालय केन्द्रमा किशोरकुमार राईले केन्द्राध्यक्षको जिम्मेवारी पाउनुभएको छ । 

यस्तै, युवा वर्ष माध्यमिक विद्यालय कैंजलेमा चन्द्रमणि पौडेल, जनता माध्यमिक विद्यालय हाङ्देवामा शरदराज निरौला, बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङमा युवराज बस्नेत र सिद्धकाली माध्यमिक विद्यालय दोखुमा अमरकुमार राई केन्द्राध्यक्ष तोकिनुभएको छ । पाथीभरा याङ्वरकको थेचम्बु माध्यमिक विद्यालय थेचम्बुमा देउकुमार सुब्बा, सिदिङ्वा गाउँपालिकाको भन्ज्याङ माध्यमिक विद्यालयमा राजेन्द्र इधिङ्गो केन्द्राध्यक्ष तोकिनुभएको छ । 

त्यस्तै सिरिजङ्घा गाउँपालिकाको सिनाम माध्यमिक विद्यालय सिनाममा महेन्द्रप्रकाश गौतम, तेल्लोक माध्यमिक विद्यालय तेल्लोकमा रुकमान थेबे र गणेश माध्यमिक विद्यालय खेबाङमा रामकुमार लिम्बू केन्द्राध्यक्ष बन्नुभएको छ । आठराई त्रिवेणी गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालय फूलबारीमा कुलप्रसाद भट्टराई, सरस्वती मावि हाङ्पाङमा बिपना भण्डारी तोकिनुभएको छ । 

मिक्वाखोला गाउँपालिकाको मोती माध्यमिक विद्यालय खोक्लिङमा केबुहाङ लिम्बू, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालय थुकिमामा कमल चेम्जोङ लिम्बू केन्द्राध्यक्ष चयन हुनुभएको छ । यसैगरी मैवाखोला गाउँपालिकाको मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा भक्तबहादुर लिम्बू र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालय लिङ्खिममा ओमनाथ गौतमले केन्द्राध्यक्षको जिम्मेवारी पाउनुभएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । 

यता यस वर्षको एसइईमा जिल्लाका दुई हजार १२१ जना परीक्षार्थीले सहभागिता जनाउने छन् । उक्त सङ्ख्यामध्ये नियमिततर्फ एक हजार ९५२, ग्रेडवृद्धि तर्फका ६६ र प्राविधिक धारतर्फका १०३ जना परीक्षार्थी रहेका इकाई प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी परीक्षार्थी बाल सुबोधिनी संस्कृत मावि मेदिबुङमा २५३ र सबैभन्दा न्यून गणेश मावि खेबाङमा ६८ जना परीक्षार्थी रहेका छन् ।