• ७ वैशाख २०८१, शुक्रबार

देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ स्थलगत निरीक्षण

blog

देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ स्थलगत निरीक्षण गर्दै प्रजिअसहितको टोली ।

मीना कंडेल

कावासोती, चैत १२ गते । पूर्वी नवलपरासीको देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनौटका लागि स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मन्त्रालयका विज्ञ, मन्त्रालय तथा विभागका अधिकारी–कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारिस भएका चार वटा क्षेत्रको अवलोकन भएको हो ।

देवचुली नगरपालिकाको वडा नं. १७ स्थित झराही खोला किनार, वडा नं. १६ को मुकुण्डे खोला किनार, वडा नं. १३ को बौलाहा खोला किनार र वडा नं. १५ र १० को लोकाहा खोला किनारका सामुदायिक बन तथा ऐलानी जग्गा टोलीले अध्ययन अवलोकन गरेको हो  । 

नवलपुर जिल्लाको मध्य भाग तथा सहजताका हिसाबले ट्रमा सेन्टर निर्माणका लागि जिल्लाको अन्यत्र ठाउँ पनि उपयुक्त रहेको भए पनि मन्त्रिपरिषद्को निर्णयअनुसार देवचुलीमा निर्माण गर्ने भनिएकाले ट्रमा सेन्टर छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको भनाइ छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयको अस्पताल व्यवस्थापनसम्बन्धी केही मापदण्ड र आधारहरू, प्राविधिक हिसाबले सहरी विकास मन्त्रालयका पनि केही आधार र मापदण्डहरू साथै जग्गा प्राप्तिका केही अनुशासन र नियमहरू हुन् ।’

नेपाल सरकारको चालु आर्थिक वर्षको नीति र कार्यक्रममा देवचुलीमा ट्रमा सेन्टरको स्थापना गर्ने भन्ने नीतिगत व्यवस्था भएअनुसार बजेट विनियोजन भएकाले प्रारम्भिक प्रक्रिया बमोजिम नगरपालिकाले सिफारिस गरी पठाएका सम्भावित सबै स्थानबाट एक उपयुक्त ठाउँ छनौटका लागि विषयगत क्षेत्रबाट अनुगमन–निरीक्षण गराइएको देवचुली नगरप्रमुख हरि न्यौपानेले बताउनुभयो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयका उप–सचिव एवम् योजना महाशाखाका प्रमुख लीला पौडेल, सहरी विकास मन्त्रालय अन्तर्गत भवन विभागको स्वास्थ्य महाशाखा प्रमुख परीक्षित कडरिया, भवन विभाग भरतपुर महाशाखा कार्यान्वयन इकाई प्रमुख प्रकाश अर्याल, भवन विभागका इन्जिनियर सनिन कर्माचार्यको अध्ययन टोलीले स्थलगत अवलोकन गरेको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो  । 

वडा नं. १७ को भराहीखोला पुल नजिकैको करिब ४५ बिगाहा ऐलानी जग्गा, वडा नं. १६ को कुवज्योति आधारभूत विद्यालयको स्वामित्वमा रहेको मुकुण्डे खोला किनारको करिब डेढ बिगाहा जग्गा, वडा नं. १३ को बौलाहा खोला किनारमा मुख्यमार्गको उत्तर र दक्षिण दुवै तर्फको करिब नौ बिगाहा क्षेत्रफलको जग्गा र लोकाहामा पनि खोला किनारकै सामुदायिक बन क्षेत्रको करिब ४ बिगाहा क्षेत्रफलको जग्गा हुन् ।

यीमध्ये लोकाहा क्षेत्र प्रदेशको गौरवको योजना अन्तर्गत औद्योगिक ग्रामका लागि समेत सिफारिस भएर जग्गा नापजाँच भइसकेको छ । अवलोकन भएका जमिन सबै मुख्यमार्गसँगै जोडिएको राजमार्ग नजिककै जमिन हुन् । 

बहुप्रतिक्षित योजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणले गति लिने भएपछि देवचुलीवासीमा खुसी छाएको छ । ट्रमा सेन्टर निर्माणपछि देवचुलीवासी मात्रै नभई सम्पूर्ण नवलपुरवासी लाभान्वित हुने सरोकारवालाहरूको अपेक्षा छ ।