मन्त्रिपरिषद् बैठक प्रधानसेनापतिमा थापा सिफारिश

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ४ गते । नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई महारथी पदमा पदोन्नती गरी प्रधानसेनापतिमा नियुक्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ ।
थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्न नेपाली सेनाका परमाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिश गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । Pm-office
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अवकाश पाउनु एक महिना अघिदेखि विदामा बसेपछि रथी थापाले साउन २५ गते देखि कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
थापालाई संविधानको धारा २६७ उपधारा ५ बमोजिम प्रधानसेनापतिका लागि सिफारिश गरिएकोको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । संविधानको धारा २६७ उपधारा ५ मा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिशमा प्रधानसेनापति नियुक्ति गर्ने व्यवस्था छ । प्रधानसेनापति क्षत्रीले तीन वर्षे सेवा अवधिका कारण भदौ २४ गते अवकाश पाउँदै हुनुहुन्छ ।
अधिकृत हुँदै शीर्ष पदसम्म
प्रधानसेनापतिमा सिफारिश थापा २०३६ सालमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा भर्ना हुनुभएको हो । उहाँ २०३७ मंसिर २७ गते गोरखबहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त हुनुभएको थियो ।
थापाले भारतबाट बटालियन सपोर्ट वेपन, योङ अफिसर कोर्स र नेशनल डिफेन्स कोर्स पूरा गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाबाट इन्फेन्ट्री अफिसर्स एडभान्स कोर्स र एक्जुकिटीभ कोर्स गर्नुभएका उहाँले नेपालमै कमाण्ड एण्ड स्टाफ कलेज समेत गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयका डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गर्नुभएको छ । प्रधानसेनापतिमा सिफारिश हुनभएका कामु प्रधानसेनापति थापाको हजुरबुबा र बुबा दुवैजना नेपाली सेना हुनुहुन्थ्यो । बुवा प्रमुख सेनानी फणेन्द्रबहादुर थापा र आमा सावित्री थापाको उहाँ कान्छा छोरा हुनुहुन्छ ।
प्रमुख सेनानी हुँदा थापाले श्रीजंग गण कमाण्ड गर्नुको साथै बाहिनीमा जी—३ को कार्यभार पनि सम्हाल्नुभएको थियो । प्रमुख सैनिक सचिवालयको कार्यलयमा प्रमुख सेनानी हुँदा सम्पर्क अधिकृतको रुपमा समेत काम गर्नुभएको छ । उहाँले जी—२ स्टाफको जिम्मेवारी पनि सम्हाल्नुभएको छ ।
विसं. २०६९ जेठ २ गते उपरथी दर्जामा पदोन्नति हुनुभएका थापा कार्यरथी विभागमा नियुक्त हुनुभएको थियो । उहाँले उपत्यका पृतनाको कमाण्ड सम्हालनुका साथै जंगी अड्डास्थित सम्भार रथी विभागमा समेत काम गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघमा पटक—पटक गरी विभिन्न नियुक्तिमा सेवा गर्नुभएका उहाँ २०७१ माघ २५ गतेदेखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्रसंघको मध्यपूर्वस्थित इजरायल तथा सिरियाको सिमानास्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघको विच्छेदन पर्यवेक्षक दल (युएनडिओएफ) को हेड अफ द मिसन तथा फोर्स कमाण्डर पदमा पनि कार्य गर्नुभएको छ ।


खनालको नेतृत्वमा खर्च पुनरावलोकन आयोग
काठमाडौं । सरकारले डा. डिल्लीराज खनालको अध्यक्षतामा पाँच सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने निर्णय गरेको छ । अध्यक्ष खनालको सेवा सुविधा राज्यमन्त्रीस्तरको हुनेछ ।
सरकारले मौलिक हकसँग सम्वन्धित थप तीन वटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । व्यक्तिगत गोपनियताको व्यवस्था गर्न बनेको विधेयक – २०७५, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक – २०७५ र भूमि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक (सातौ संशोधन) – २०७५ लाई संघीय संसदमा पेश गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।
बैठकले विश्व बैंक समूहको अन्तराष्ट्रिय संस्था (आइडीए) बाट स्वीकृत सार्वजनिक व्यवस्था सुधार आयोजनाका लागि प्राप्त एक अर्ब ६४ करोड (१५ मिलियन डलर) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी मन्त्रिपरिषद्को बैठकले पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरन्जीवी चटौत, पुनर्वास तथा व्यवस्थाको कार्यकारी निर्देशकमा सिँचाइ तथा जलस्रोत विभागका उपमहानिर्देशक चुर्णबहादुर ओली र प्राविधिक कार्यकारी निर्देशकमा विद्युत विकास विभागका नरेन्द्र भण्डारीलाई काजमा खटाउने निर्णय गरेको छ ।
प्राधिकारणको कार्यकारी पदमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई अर्को व्यवस्था नभएसम्म बढीमा २०७६ असार मसान्तसम्मका लागि काजमा खटाउने निर्णय समेत बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।
त्यसैगरी अस्थायी तथा सेवा करार बमोजिमका जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमेस्टेक)को ग्रीड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिने निर्णय गरेको छ । बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौँमा हुँदैछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds