जोशीद्वारा ६ दिन बिदा थप

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ४ गते । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले ६ दिन बिदा थप गर्नुभएको छ । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएसँगै जोशी साउन २० गतेदेखि बिदामा बस्नुभएको थियो । उहाँको १५ दिनको बिदा आइतबार सकिएको हो ।
जोशीले वार्षिक रूपमा पाउने भैपरी बिदाबाट ६ दिन बिदामा रहने जानकारी दिएको सर्वोच्च प्रशासनले जनाएको छ । भैपरी बिदाको जानकारी राष्ट्रपति कार्यालयलाई पछि दिए पनि हुने भएकाले बिदाको जानकारी औपचारिक रूपमा आइतबार पठाइएको छैन । वार्षिक रूपमा १३ दिन भैपरी बिदामा बस्न सक्ने सुविधा हुन्छ । सर्वोच्च स्रोतले भन्यो ‘उहाँले थप ६ दिन बिदामा बस्ने जानकारी दिइसक्नु भएको छ ।’
यसअघि साउन १९ गते भने जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर १५ दिन बिदामा बस्ने जानकारी दिनुभएको थियो । जोशी बिदामा बसेपछि वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले कायम मुकायमका रूपमा सर्वोच्चको दैनिक पेसी सूची तोकिरहनु भएको छ । depakraj josi by shekhar
संसदीय सुनुवाइ समितिले साउन १८ गते उहाँलाई अस्वीकृत गरेको थियो । जोशी अस्वीकृत भएको दुई साता बिते पनि नयाँ प्रधानन्यायाधीश सिफारिस हुन सकेको छैन । प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा विदेश रहेका कारण परिषद् नबसेको हो । देउवा आइतबार (भदौ ३) स्वदेश फर्कनुभएको छ ।
जोशी अस्वीकृत भएसँगै संवैधानिक परिषद्सँग दुई न्यायाधीशमध्ये कसलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने भन्ने विकल्प छ । परिषद्मा न्याय परिषद्को रोष्टर अनुसार ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम विकल्पमा छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds