• ८ वैशाख २०८१, शनिबार

दुर्गन्धित जनकपुरधाम सफा गर्ने अभियान

blog

धीरेन्द्रप्रसाद साह 

जनकपुरधाम, चैत १२ गते । मधेश प्रदेशको स्थायी राजधानी र धार्मिक पर्यटकीय नगरी जनकपुरधामलाई सफासुग्घर राख्ने सबैको चाहना हुँदाहुँदै पनि चारैतिर फोहोर देखिन्छ। घर, पसलको फोहोर सडकमा ल्याएर फाल्ने प्रवृत्तिले यस्तो अवस्था आएको हो। 

जनकपुर नगरीलाई सफासुग्घर राख्न चेतनामूलक सन्देश यत्रतत्र भित्तामा लेखिएको भेटिन्छ तर त्यो चेतनामूलक सन्देश पढेर पनि व्यवहारमा भने उतारिएको छैन। यसैकारण जनकपुरधामका मुख्य सडकमा फोहोर र दुर्गन्धित छन्।  

नगरका कालोपत्रे सडक पसलको फोहोरले दुर्गन्धित बनाइएको छ। यहाँका ठेला व्यवसायी, साना होटल, चिया पसल, औषधि पसल, स्वास्थ्य ल्याब (प्रयोगशाला) सञ्चालकले सडकलाई दुर्गन्धित बनाइरहेका छन्। औषधि पसलको फोहोर, म्याद गुज्रिएका औषधि, प्रयोगशालामा प्रयोग भएको सिरिन्ज, सुई, प्लास्टिकका थैला, बियर, रक्सीका बोतललगायतका फोहोर सडकमै भेटिने गरेका छन्।  सरसफाइ अभियानको नेतृत्व गरिरहनुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले यस्तो फोहोर भेटिएको बताउनुभयो। 

अभियानका क्रममा उपमहानगरपालिकाको फोहोर सङ्कलन गर्न आउने गाडीमा फोहोर दिन सम्झाइबुझाइ गर्दै आएको उहाँले बताउनुभयो। सम्झाउँदा पनि सुधार हुन नसकेको उहाँको भनाइ छ। दाहालले भन्नुभयो, “फोहोर गर्ने धेरै छन् तर सफा गर्ने एकदमै न्यून छन्। अब फोहोर गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने योजना बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो। पछिल्लो डेढ महिनादेखि सरसफाइ अभियान सञ्चालन भइरहेको छ। केही घर र पसलले भने जथाभाबी नफालेर उपमहानगरपालिकाको फोहोर सङ्कलन गर्न आउने टिप्पर, ट्याक्टरलाई दिने गरेको बताउनुभयो।  

मधेश प्रदेशको राजधानी र जानकी माताको दर्शन, अध्ययन गर्न जनकपुरधाम आउने आन्तरिक र बाह्य श्रद्धालु भक्तजन र पर्यटकले लैजाने सन्देश सकारात्मक हुन नसक्ने जनकपुरधाम उपमहानगरपालिका–९ का अध्यक्ष परमेश्वर साहको भनाइ छ। उहाँले भन्नुभयो, “सरसफाइ अभियानसँगै नगरवासीलाई सचेत गराउन र फोहोर सडकमा फाल्न नदिन उपमहानगरपालिकाबाट योजना बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो। 

प्रत्येक शुक्रबार प्रजिअ कुचो, कोदालो लिएर अभियानको नेतृत्वमा निस्किनुहुन्छ। उहाँसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय, जनकपुरधाम उपमहानगरपालिका, नागरिक समाजलगायत अन्य गैरसरकारी संस्थाहरू पनि सरसफाइमा जुटिरहेका छन्। शुक्रबार उत्तर–दक्षिण मुख्य मार्गको पिडारी चोकमा बृहत् सरसफाइ गरिएको छ। सरसफाइको क्रममा प्रजिअले पसल, घरधनीलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत गराउनुभएको थियो। फोहोर फालेको पाइएमा कडा कारबाही गरिने चेतावनी पनि उहाँले दिनुभयो। 

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले फोहोर सङ्कलनका लागि डस्टबिन वितरण गरिने जानकारी दिनुभयो। पर्यटकहरू प्रायः जनकपुरधामको मुख्य प्रवेशद्वारमा नै दुर्गन्धको सिकार हुँदा नकारात्मक सन्देश लिएर नफर्किउन भनी पिडारी चोकमा सरसफाइ गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका फोहोर सङ्कलन, व्यवस्थापनका लागि तीव्र गतिका कार्य भइरहेको नगरप्रमुख साहले जानकारी दिनुभयो। 

नगरको फोहोर सङ्कलन र व्यवस्थापनका लागि उपमहानगरपालिकाले ग्रामीण वडाका लागि छुट्टै ट्याक्टर हस्तान्तरण गरिसकेको छ। उहाँले तत्काल वडा नं. १७ कनकपट्टीमा फोहोर व्यवस्थापन (डम्पिङ साइट) निर्माण भइरहेको बताउनुभयो। फोहोर व्यवस्थापनको दीर्घकालीन योजनाअन्तर्गत वडा नं. २४, बसैयाहामा ल्याडफिल्ड निर्माणका लागि जग्गा व्यवस्थापन अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो।