• १५ चैत २०८०, बिहिबार

पुलिस खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

blog

शनिबारको खेलमा प्रतिस्पर्धा गर्दै पुलिस र दार्जलिङका खेलाडी ।

काठमाडौं, चैत ११ गते । नेपाल पुलिस क्लब छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा शनिबार भएको खेलमा पुलिसले दार्जलिङको जर्जियन एफसीलाई टाईब्रेकरमा ३–० गोलले हरायो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको निर्णय टाईब्रेकरबाट गरिएको हो । 

निर्धारित समयमा दार्जलिङले आठौं मिनेटमा पुलिसका मनोज राईको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । त्यसपछि पुलिसका भोला सिलवालले ४२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । 

टाइब्रेकरमा पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदी गोल गर्नुभयो । दार्जलिङका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल बन्यो ।

आइतबार फ्रेन्ड्स र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार पाउनेछ । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम–११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजक सहित ‘ए’ डिभिजन ६, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । फाइनल खेल चैत १८ गते हुनेछ ।