• ८ वैशाख २०८१, शनिबार

राजश्वले चालु खर्च धान्न नसक्ने अवस्थामा छ : एमाले उपाध्यक्ष पौडेल

blog

कार्यक्रमलाई सम्बोेधन गर्नुहुँदै नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत १० गते । 
नेकपा (एमाले) उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था समाधान गर्न सबै एक ठाउँमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । अहिले देशमा राजश्वले चालू खर्च समेत धान्न नसकेको उहाँको भनाइ छ ।

उहाँले राजश्व लक्ष्यसमेत पूरा नहुने अवस्थामा मुलुकको चिन्ताजनक अवस्था पार लगाउन राजनीतिक दल र निजी क्षेत्र फेरि एकजुट हुनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिको शनिबार बुटवलमा साधारण सभाको उद्घाटन गर्नुहुँदै पौडेलले भन्नुभयो, ‘‘पछिल्लो पटक म अर्थमन्त्री भएर मुलुकको आर्थिक अवस्था नजिकबाट बुझ्न पाएँ । आन्तरिक राजश्वले चालू खर्च धान्ने अवस्था छैन । विदेशी मुद्रा सञ्चित पनि राम्रो छैन, राजश्वको लक्ष्य पूरा हुने अवस्था नहुँदा देश चिन्ताजनक अवस्थामा पुगेको छ ।’’

यसअघि यस्तो अवस्था २०२८ सालमा मात्रै आएको उहाँको दाबी छ । अहिले  २०७९ मा ५० वर्ष आधा शताब्दीपछि पनि आर्थिक सङ्कटपूर्ण अवस्था आएको उहाँको भनाइ छ ।

पौडेलले अहिलेको अवस्थामा दलहरुबीच एक अर्कामा तत्काल क्रिया प्रतिक्रिया गर्ने अवस्थामा नरहेको भन्दै देखिएका समस्या पार लगाउन सबै दल एउटै प्लेटफर्ममा बसेर लाग्नु पर्नेमा जोड दिनुभयो ।

एमाले उपाध्यक्ष तथा रुपन्देही–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले यातायात क्षेत्रका समस्या समाधान गर्न आफू सबै व्यवसायीको साथमा रहेको बताउनुभयो ।