• ७ वैशाख २०८१, शुक्रबार

पशुपतिमा एक दिन (फोटो फिचर)

blog

काठमाडौं, चैत ११ गते । पशुपतिनाथको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभई विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ ।

त्यसैले पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गन्तव्यस्थल पनि हो । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव सम्मान आस्था एवम् श्रद्धाको केन्द्र बनेको छ ।

पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल (अखाडा) पनि छन् । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ । जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ । साथै यो पावन स्थलमा बागमती नदीले महिमा अझै बढाएको छ । पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ र दुनियाँ फिक्का छ जस्तो पनि लाग्छ । बिहानै पूजापाठ, मध्याह्न पर्यटकहरूको चहलपहल, भक्तजनहरूको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्नुस् अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ ।

त्यसैले त पशुपतिमा सबै छ र केही छैन । पशुपतिमै कोही रुन्छन्, कोही हाँस्छन्, कोही खेल्छन्, कोही कराउँछन्, कोही भगवान् खोज्दै पुग्छन्, कोही भगवानसँगै पुग्छन्, कोही जन्मिन्छन् र कोही मर्छन् ।

तस्बिर : न्यूज एजेन्सी नेपाल