• ७ वैशाख २०८१, शुक्रबार

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अङ्कित क्यालेण्डर सार्वजनिक

blog

विसं २०८० को क्यालेण्डर सार्वजनिक गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदााधिकारी । तस्बिर : ग्लोबल आईएमई बैंक लिमिटेड

काठमाडौं, चैत १० गते । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको विसं २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेण्डर सार्वजनिक गर्नुभएको छ ।

ग्लोबल आईएमई बैंकले हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा बोल्नुहुँदै बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताउनुभयो ।


मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्नुहुँदै उहाँले आउने दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पार्नुभएको मण्डला चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिनुभयो ।

नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उहाँको भनाइ थियो ।