• ८ वैशाख २०८१, शनिबार

विश्व नेपाली नारी साहित्य महोत्सव धनगढीमा सुरु

blog

साहित्य महोत्सवको उद्घाटन गर्नु हुँदै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह। तस्बिर: अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत १० गते। मौलिक कलाले सम्पन्न भूमि सुदूरपश्चिम प्रदेशको धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आजबाट सुरु भएको छ। 

भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमाञ्चल साहित्य समाजले विश्व नेपाली नारी साहित्य महोत्सवको आयोजना गरेको हो। तीन दिनसम्म चल्ने साहित्य महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो। 

महोत्सवमा नेपालसहित भारत, भुटान, अमेरिका लगायतबाट नेपालीभाषी साहित्यकारको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। तीनदिने साहित्य महोत्सवमा साहित्य र साहित्यसँग सम्बन्धित विविध विषयमा छलफल हुने समाजका सल्लाहकार रामलाल जोशीले जानकारी दिनुभयो। 

महोत्सवमा चर्चित कृति जीवन काँडा कि फूलका लेखक झमक घिमिरेसहित देशभरकै चर्चित साहित्यकारको सहभागिता छ। महोत्सवको पहिलो दिन साँझ काव्य अराधना र दोस्रो दिन गजल सन्ध्या पनि हुने आयोजकले जानकारी दिएको छ। 

साहित्य महोत्सव उद्घाटनको अवसरमा विभिन्न सामुदायको मौलिक नृत्य प्रस्तुत गरिएको थियो।