• ६ वैशाख २०८१, बिहिबार

क्षयरोगका बिरामी : महिलाभन्दा पुरुष बढी

blog

फाइल तस्बिर

सुजल श्रेष्ठ

प्युठान, चैत १० गते । कम्तीमा ६ महिना औषधि खाएमा क्षयरोग पूर्णतया निको हुन्छ । तर बिरामीले एक दुई महिना औषधि खाएर बीचमा खान छाड्दा क्षयरोग दोहोरिने समस्या देखिएको छ ।

स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्कअनुसार गत वर्ष १७ जना बिरामीमा क्षयरोग दोहोरियो । १२ जना बिरामीको मृत्यु भयो भने ६ जना बिरामी औषधि खाँदाखाँदै हराए । “औषधि खाएको एक दुई महिनामा बिरामीलाई निको भएको महशुस हुन्छ” नियमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले भन्नुभयो, “पूर्णरुपमा निको हुन कम्तीमा ६ महिना औषधि खानुपर्छ, तर कतिपयले निको भयो भनेर औषधि खान छाड्छन् ।”

जिल्लामा कतिपय व्यक्तिलाई तीन–चार पटकसम्म क्षयरोग दोहोरिनेगरेको छ । केही बिरामी रोजगारीका लागि भारतमा जाने भएकाले समेत नियमित औषधि खानबाट छुट्ने गरेको खड्काले बताउनुभयो । जिल्लामा पाँच वर्षको अवधिमा एक हजार चार सय ६८ जना क्षयरोगका बिरामी दर्ता भएका छन् । 

सो तथ्याङ्कअनुसार महिलाभन्दा बढी पुरुषलाई क्षयरोग लागेको भेटिएको छ । दर्ता भएका क्षयरोगका बिरामीमध्ये ७५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला छन् । बढी धूमपान तथा मध्यपान गर्ने व्यक्तिलाई क्षयरोग लाग्ने भएकाले पनि पुरुषको सङ्ख्या धेरै देखिएको हुनसक्ने खड्काको भनाइ छ ।

क्षयरोगको पहिचानका लागि जिल्लाका तीन स्वास्थ्य संस्थामा जेन एक्पर्ट मेशिन र १३ वटा स्वास्थ्य संस्थामा माइक्रोस्कोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । क्षयरोग अन्त्यका लागि जिल्लामा बीएनएमटी र किड्स नेपालले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दैआएका छन् ।