• १३ वैशाख २०८१, बिहिबार

कार्यादेश भए पनि पुल निर्माण काम सुरु भएन

blog

पक्की पुल निर्माण गर्नुपर्ने याङ्चु बजारको कर्णाली नदी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, चैत ९ गते । खार्पुनाथ गाउँपालिकाको केन्द्र अन्तर्गत पर्ने कर्णाली नदी माथिको पक्की मोटरेबल पुल निर्माणका लागि नौ महिनाअघि कार्यादेश भए पनि निर्माण कार्य सुरु भएको छैन । पुल निर्माण कम्पनी पक्षले ६ महिनामा सक्नु पर्ने डीपीआर र लागत इष्टिमेट तयारी गर्ने कार्यमा ढिलाइ गरेका कारण पुल निर्माणको काम सुरु हुन नसकेको हो । 

गाउँपालिका केन्द्र याङ्चु बजारबाट वडा २, ३ र ४ जोड्न कर्णाली नदीमाथि पक्की पुल निर्माण गर्न दुई वर्षअघि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट बजेटको व्यवस्था भएको थियो । बजेटको व्यवस्था भई निकासा आउँदा यसका लागि पूर्वाधार विकास कार्यालय हुम्लाले २०७७ चैत २२ गते टेण्डर आव्हान भएको थियो । 

दुई वर्षभन्दा बढी समय कार्यालयले टेण्डरबाट निर्माण कम्पनी छनौटमा लगाएको थियो । २०७९ जेठ अन्तिम साता कार्यालयले निर्माण कम्पनी सूर्य एचएम श्रेया जेभी छनौट गरी असार ३ गते उक्त जेभीलाई डीपीआर र लागत इष्टिमेट र निर्माण कार्य अघि बढाउन कार्यादेश दिएको थियो । 

पूर्वाधार विकास कार्यालयका प्रमुख गौरी ढकालले निर्माण कम्पनीले ढिलाइ गरेकै कारण पुल निर्माण कार्य सुरु हुन नसकेको बताउनुभयो । उहाँले छनौट भएको निर्माण कम्पनीले पुल निर्माण गर्ने स्थान, त्यसको डीपीआर र लागत इष्टिमेट डिजाइन एण्ड बुइल्ड (डीएबी) समेत गर्नुपर्ने र त्यसका लाछि ६ महिना समय दिएको भए पनि नौ महिना बितिसक्दा समेत सो काम अघि बढ्न नसकेको बताउनुभयो । 

डीपीआर र लागत इष्टिमेट सकेर निर्माण कार्य अघि बढाउन दुई पटक लिखित पत्राचार गर्दा पनि काम सुनुवाइ नभएको बताउनुभयो । कार्यालयले सो पुललाई बहुबर्षीय योजनामा राखेको छ । कार्यादेशअनुसार निर्माण कम्पनी पक्षले २०८४ जेठ ११ गते पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ । 

सो निर्माणको काम गर्न १७ करोड १७ लाख २५ हजार २७५ रुपियाँ लागत लाग्नेगरी सम्झौता गरेको बताउनुभयो । पुल निर्माण कम्पनीका प्रतिनिधि ध्रुवबहादुर शाहीले लागत इष्टिमेटको काम सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम गर्न अझै ६ महिना लाग्ने बताउनुभयो । साउनपछि मात्र सो कार्य सुरु गर्ने उहाँको भनाइ छ । 

आगामी मङ्सिर महिनाबाट निर्माण सामग्री जम्मा गर्न सुरु गर्ने र पुलको निर्माण कार्य कर्णाली कोरिडोर जोडिएपछि मात्र सुरु गर्ने समेत बताउनुभयो । पुलका लागि आवश्यक विकास निर्माण सामग्री सिमेन्ट, छड र सरिया सबै जिल्ला दररेटअनुसार ढुवानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ । माथिल्लो हुम्ला अहिले पनि सडक सञ्जाल नजोडिएको कारण हवाई मार्गबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । 

कर्णाली कोरिडोरको दुल्ली कुना लालीबगर क्षेत्रको ११ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाको विकास निर्माण दलले हाल सो खण्डको सडक निर्माणको कार्य तीव्ररूपमा अघि बढाएको जनाएको छ । सडक निर्माणमा खटिएको सेनाले २०८१ को असारसम्म सडक निर्माणको काम सम्पन्न गरेर हिल्सा– सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने जनाएको छ ।