आयात व्यापारको आयतन

Junar_babuजुनारबाबु बस्नेत

केही दिनअघि राजधानी गोलभेँडा प्रतिकिलो ३० रुपियाँ उपभोक्ता मूल्य थियो । कतिपय किसानले त खेतीबाट गोलभेँडा उठाउनुभन्दा बारीमा छोड्नु उचित ठाने । एक वर्षअघि यसै सिजनमा प्रतिकिलो एक सय रुपियाँभन्दा बढी थियो । गोलभेँडाको बेमौसममा भारत निर्यात हुन थालेपछि बेमौसमी गोलभेँडा खेती गर्न नेपाली किसान हौसिए । धेरै किसानले ऋण लिएर लगानी गरे तर अब्बल गोलभेँडा उत्पादन भएपछि भारत निर्यात हुन सकेन । भारतबाट सबै मालवस्तु नेपाल निर्वाध आउने तर भारत जान भने अनेक अवरोध आइरहन्छ । अदुवा, अलौँची, चिया आदिमा पनि यस्तै समस्या आइरहन्छ । अलिकति नेपाली उत्पादन राम्रो भयो भने निर्यातमा अनेक अवरोध आइपर्छ, भारत जाँदैन । उताबाट भने निर्वाध जे–जस्ता उत्पादन नेपाल आउँछन् ।
उच्चस्तरीय राजनीतिक नेतृत्वबीचमा धेरै मीठा कुरा हुन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक सरकारको नेतृत्व सम्हालेपछि भारत भ्रमणमा जानुभयो । विगतका तिक्त सम्बन्धमा बिराम लाग्यो । सम्बन्धले नयाँ उचाइ लिएको कूटनीतिक टिप्पणी भए । हुन पनि अघिल्लो पटक उहाँ प्रधानमन्त्री हुँदा नेपाल ठूलो सकसमा थियो । नेपालले नाकाबन्दीको सामना गर्नुपरेको थियो । नेपाल र भारतबीचको सम्बन्धको अँध्यारो आयामजस्तै भएको त्यस कालखण्डलाई प्रधानमन्त्री ओलीको नयाँ दिल्ली भ्रमणले नयाँ दिशा निर्देश गरेको भए पनि त्यसलाई व्यावहारिक धरातलमा कसरी सफल बनाउने ? यो चुनौती बाँकी नै छ । गोलभेँडाको निर्यात अवरोध सानो तर ताजा उदाहरण हो ।
प्रधानमन्त्री ओलीको नयाँ दिल्ली भ्रमणपछि उहाँका भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुभयो । ठूलो ऐतिहासिक भ्रमण मानिएको हो त्यो भ्रमण । भारतीय प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका लागि भारत ‘शेर्पा’ हुन तयार भएको बताउनुभयो । राष्ट्रिय सभागृहको नागरिक अभिनन्दनमा प्रधानमन्त्री मोदीको त्यस उद्गारलाई ठूलो कूटनीतिक सफलताको रूपमा पनि लिइयो ।
सगरमाथा आरोहणमा शेर्पाको ठूलो र व्यापक अर्थ छ । आरोहीलाई काँधमा बोकेर पनि लैजाने शेर्पाको भूमिकालाई प्रधानमन्त्री मोदीले नेपालीको मन जित्नमात्र भन्नुभएको पक्कै होइन तर उच्च स्तरमा मीठा कुरा भए पनि कतिपय समस्या भने जस्ताका जस्तै छन् । त्यसैका लागि हुनुपर्छ, नेपाल र भारतको बीचका वाणिज्य सन्धि पुनरावलोकनका लागि अहिले गृहकार्य भइरहेको छ । भर्खरै पनि नयाँ दिल्लीमा सहसचिवस्तरीय वार्ता भयो । भारतले नेपालको निर्यात प्रवद्र्धनमा सहयोग पु¥याउने सञ्चार प्रवाह पनि भयो तर कहिले ?
भोकाले भन्छ डाँडा वारि खाउँ, अघाएकोले भन्छ डाँडापारि खाउँ । भारतबाट सबै मालवस्तु सरर नेपाल आउँछन् तर नेपालबाट भारततिर जाने मालवस्तुले अवरोधमात्र व्यहोर्छन् । कहिले कोटाको कुरा आउँछ भने कहिले क्वारेइन्टाइनको कुरा । कहिले के ? कहिले के ? भनेजस्तै, व्यापार घाटाको चापले नेपाल थिचिएको छ । भारतबाट आउने कतिपय मालवस्तुले नेपालका उद्यम र कलकारखाना धराशयी भएका छन् भने निर्यातमा बिराम लाग्दा लगानीमा समेत प्रतिकूलता देखिएको छ ।
विशाल जनसङ्ख्याको भारत तीन करोडभन्दा कम आवादी भएको नेपालबाट किन व्यापारिक प्रतिस्पर्धाको जस्तो व्यवहार गर्दो
हो ? राजनीतिक तहमा सधैँजस्तो कुरा मिल्छ । राजनीतिक तहमा कुरा मिले पनि प्रशासनिक तहमा भने त्यसको सन्देश तलसम्म पुगेकै हुँदैन । एक अर्ब ३५ करोडको जनसङ्ख्या भएको भारतका लागि नेपाली मालवस्तु भारतीय बजारमा चुनौती नहुनुपर्ने हो । हुन पनि भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारी हो तर भारतसितै नेपालको ठूलो व्यापार घाटा हुँदै आएपछि त्यसले अर्थतन्त्रमा अनेक समस्या खडा गरेको छ ।
कुल वैदेशिक व्यापारमा नेपाल आयातमुखी देश हुँदैछ । गत आर्थिक वर्ष २०७४÷७५ को एघार महिनामा कुल वस्तु निर्यात ७४ अर्ब ३१ करोड रुपियाँ मात्र भएको छ । एक खर्ब रुपियाँ पनि पुगेको छैन । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा यो निर्यात १० दशमलव ४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव ३ प्रतिशतले मात्र बढेको थियो । यो एक वर्षमा भारततिर भारततर्फ ८ दशमलव ७ प्रतिशतले मात्र निर्यात बढेको देखिएको छ । भारततिर निर्यात असाध्य न्यून मात्र बढेको छ । चीनतिर भने झण्डै शतप्रतिशत अर्थात् ९१ प्रतिशतले निर्यात बढेको छ ।
कुल निर्यात एक खर्ब रुपियाँ नपुगे पनि आयात भने उरुङ लागेको छ । गत आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ७ अर्ब रुपियाँको आयात देखिएको छ । महिनाकै एक खर्ब रुपियाँभन्दा बढीको आयात छ । अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा आयात २३ दशमलव ५ प्रतिशतले बढेको हो । एक खर्ब रुपियाँ पनि निर्यात नहुँदा आयात भने ११ खर्ब नाघ्नु कम चिन्ताको विषय होइन । वैदेशिक व्यापारमा दुईतिहाइ अंश ओगटेको नेपाल र भारतको व्यापारमा आयात पनि अघिल्लो वर्षभन्दा २५ प्रतिशत बढेको छ । अझ अघिल्लो वर्षको सोही अवधिमा त यस्तो आयात ३० दशमलव ९ प्रतिशतले बढेको थियो । त्यसो त चीनबाट भएको आयात २५ दशमलव ३ प्रतिशत नै बढेको छ र अन्य मुलुकबाट पनि आयात घटेको छैन । त्यस अवधिमा आयात १८ दशमलव १ प्रतिशतले बढेको छ । यी ताजा तथ्याङ्कले नेपाल पूरै आयातमुखी मुलुक हुँदै गएको देखाउँछ ।
नेपालको परम्परागत वस्तुको निर्यात घट्दो प्रवृत्ति चिन्ताको विषय भएको छ । कुनै बेला ऊनी गलैँचा, पस्मिना र तयारी पोशाक नेपालको प्रमुख निर्यात वस्तु थिए । भारतमा जीआई पाइप, यक्रेलिक धागो, वनस्पति घ्यू राम्रै निर्यात हुन्थ्यो तर ती वस्तु निर्यातमा कमी आउँदै गएपछि नेपालको निर्यात व्यापार थला बसेको छ । अलँैची, पोलिष्टर धागो, जुटको बोरा, जस्तापाता लगायतका वस्तुको निर्यात सामान्य रूपमा बढेको देखिएको छ । ती वस्तुले निर्यातको सानो अंशलाई भए पनि धान्दै छ ।
विगतभन्दा पनि कतिपय कुरा बिग्रिएको छ । सुधार गनुपर्ने छ । सन् १९९६ को नेपाल र भारतबीचको व्यापार सन्धिपछि केही वर्ष भने नेपालको भारततिरको निर्यात उत्साहप्रद हुँदै गएको थियो तर लामो समय टिकाउ हुन सकेन । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालले उदार नीति अवलम्बन गर्दा नेपाली निर्यात भारतमा बढेको इतिहास बिर्सन मिल्दैन । छिमेकीसित भारतले पारस्पारिक लाभलाई मात्र नहेरी छिमेकीको भलाइका लागि भारतीय सहयोग र कूटनीति प्रतिविम्बित हुनुपर्छ भन्ने गुजराल डक्ट्रिनले भारतमा केही समय काम गर्न खोज्यो । पूर्वप्रधानमन्त्रीहरू अटल बिहारी वाजपेयी र डा. मनमोहन सिंहले पनि केहीहदसम्म त्यो कूटनीति अवलम्बन गर्न नखोजेका होइनन् । अति तिक्त सम्बन्ध भएको पाकिस्तानसित बस कूटनीतिको पनि अवलम्बन गरियो । सम्बन्ध सुधारका प्रयास भए तर अहिले गुजराल डक्ट्रिनको चर्चा हुँदैन ।
भारत सकारात्मक नहुँदा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन
(सार्क) प्रक्रिया अवरुद्ध हुने खतरातिर अगाडि बढ्दैछ । पाकिस्तानमा दुई वर्षअघि नै भइसक्नुपर्ने सार्कको शिखर सम्मेलन भएको छैन । सार्कको अध्यक्षता नेपालले गरिरहेको छ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको सहयोग
(बिमस्टेक) को पनि नेपालले अध्यक्षता नेपालले गरिरहेको छ । भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको चौथो शिखर सम्मेलन हुँदैछ ।
सार्क र बिमस्टेकले स्वतन्त्र व्यापारको अवधारणा अवलम्बन गरेका छन् तर नेपाल आयात व्यापारले थिचिँदै गएको छ । नेपालले अहिले चाहेको समृद्धि हो । आयात मात्रैले समृद्धिलाई सहयोग गर्दैन । समृद्धिका लागि आन्तरिक उत्पादनमा बढोत्तरी हुनै पर्छ । बढ्दो निर्यात र घट्दो आयातले मात्र देशभित्र लगानी, आय, उत्पादन र रोजगारी सम्भव हुन्छ । मुलुकी कूटनीति र सम्पूर्ण प्रयास अब यसै दिशामा अग्रसर हुनैपर्ने छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds