• १५ चैत २०८०, बिहिबार

गोलिया तथा चिरान अवैध काठ बरामद

blog

धनुषाको बिस्मवरमा अवैध काठ नियन्त्रणमा लिँदै वन कर्मचारी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, चैत ९ गते । धनुषाको लालगढ सब-डिभिजन वन कार्यालयले ठूलो मात्रामा अवैध काठ बरामद गरेको छ । वन कार्यालयले जिल्लाको मिथिला नगरपालिका –११, बिस्मवरबाट बुधबार साँझ ४३ थान गोलिया तथा चिरान काठ बरामद गरेको हो । 

सब-डिभिजन वन कार्यालय लालगढका वन अधिकृत मदन चौधरीले बिस्मवरस्थित खेतबारी, बाँसघारी र खोस्लीमा लुकाइएर राखिएको अवस्थामा अवैध काठ बरामद गरिएको बताउनुभयो । उहाँले सबै गरेर १७३.६३ क्युफिट काठ बरामद भएको भन्नुभयो । जसमा २६ थान साल, १६ थान खयर र एक थान सिसौ प्रजातिको गोलिया तथा चिरान काठ रहेको छ । 

वन कर्मचारी, जनपद प्रहरी र स्थानीय कालीखोला सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा काठ नियन्त्रणमा लिन सफल भएको बताउनुहुँदै अधिकृत चौधरीले बरामद गरिएको काठ सब-डिभिजन वन कार्यालय लालगढमा राखिएको जानकारी दिनुभयो ।

बरामद काठ राष्ट्रिय वन तथा कालीखोला वन समूहबाट कटानगरी त्यहाँ थुपारिएको हुनुपर्छ । वनबाट काठ कटान गर्नेको पहिचान पत्ता लगाउन कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।  

अधिकृत चौधरीले धनुषामा यतिको ठूलो मात्रा अवैध काठ बरामद गरेको यो दोस्रो पटक हो । यसअघि गत फागुन २४ गते सब-डिभिजन वन कार्यालय पुष्पवलपुरले १८५ थान सालको गोलिया र चिरान गरी २५५.९ क्यूफिट अवैध काठ बरामद गरेको जिल्लाको तथ्याङ्क छ । त्यसपछि ठूलो परिमाणमा अवैध काठ बरामद भएको यो नै पहिलो हो, उहाँले भन्नुभयो । 

केही दिन यता राष्ट्रिय तथा सामुदायिक वनबाट बहुमूल्य काठको तस्करी बढेको जनगुनासो बढेपछि वन कर्मचारी र वन उपभोक्ता समितिका पदाधिकारी अवैध काठ ओसारपसार तथा चोरी तस्करी नियन्त्रण गर्न वनमा गस्ती बढाएको छ ।