विद्युत विकासमा सुखद खबर (सम्पादकीय)


नेपाल र बंगलादेशबीच ऊर्जा विकासका लागि सहकार्य गर्न शुक्रबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालसँग ऊर्जाको विकास, दक्ष जनशक्ति उत्पादन तथा क्षमता अभिवृद्धि, प्रविधि तथा ज्ञानको आदान प्रदान, लगानी प्रवद्र्धन, प्रसारण लाइनको विकास लगायतका विषयमा सहकार्य गर्न नेपालसँग समझदारी हुने बंगलादेश तेस्रो मुलुक हो । यस अघि भारतसँगसन् २०१४ र चीनसँग पनि यसै प्रकृतिको समझदारी पत्रमा नेपालले हस्ताक्षर गरिसकेको छ । गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा चीनसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । सार्क राष्ट्रलाई हेर्ने हो भने भारतपछि ऊर्जा विकासका साझा अवधारणासहित अघि बढ्ने सहमति भएको बंगलादेश दोस्रो राष्ट्र हो । 

नेपाल हिमालयको मुलुक भएकाले जलविद्युत्को प्रशस्तै सम्भावना छ । आन्तरिक खपतभन्दा बढी भएको बिजुली नेपालले अन्तर्राष्ट्रिय बजारमा बेच्नै पर्छ । विगत तीन÷ चार वर्षयता ऊर्जा विकासमा भएका सकारात्मक तथा रचनात्मक कदमले आगामी वर्षात्मा नेपालमा माग भन्दा आपूर्ति बढी हुने देखिएको छ । नेपालको उत्पादन क्षमता कम्तीमा ८३ हजार मेगावाट भए पनि हालसम्मको जडित क्षमता एक हजार ७४ मेगावाट मात्र छ । आगामी वर्ष थप छ सय मेगावाट जलविद्युत् आउने देखिएको छ भने माग आगामी वर्ष पीक आवरमा एक हजार चार मेगावाट भन्दा बढी देखिँदैन । अतः बढी उत्पादन भएको बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्नुको नेपालसँग अन्य विकल्प देखिँदैन ।
हाल भारत र बंगलादेशमा ऊर्जाको बढ्दो माग छ । यी दुवै देश नेपालका नजिकका छिमेकी पनि हुन् । आफूलाई खाँचो पर्दा किन्ने र बढी हुँदा बेच्न सजिलो पनि छिमेकीसँग नै हुनेगर्छ । त्यसैले यी चीन, भारत र बंगलादेशसँगको यो समझदारीले नेपालको ऊर्जा विकासमा थप मद्दत नै हुने यथार्थ हो । हाल बंगलादेशले आफ्नो १० हजार मेगावाट बिजुलीले पनि नपुग्दा भारतबाट बिजुली लिने गरेको छ । यसले बंगलादेशमा ऊर्जाको खाँचो रहेको स्पष्ट पार्छ ।
सन् २०१४ मा सार्क राष्ट्रहरूले ऊर्जाको विकासका लागि सबै राष्ट्रले सार्क इनर्जी फ्रेमवर्क अग्रिमेन्टमा हस्ताक्षर गरिसकेका छन् । यो नै सार्क राष्ट्रहरूबीच ऊर्जाको विकास र सञ्जाल निर्माण गर्नका लागि बनेको छाता सम्झौता हो । यही सम्झौताको आधारमा रहेर भारत र हाल वंगलादेशसँग समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपालले आगामी १० वर्षमा आन्तरिक खपतका लागि समेत १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्यका साथ योजनाबद्ध ढंगले काम गरिरहेको छ । वस्तु उत्पादन गरेर मात्र हुँदैन, त्यसको उचित बजार प्रवद्र्धन हुनु पनि जरुरी छ । वर्तमान ऊर्जा मन्त्री वर्षमान पुनले पछिल्लो पटक निजी क्षेत्रका लगानीकर्ता तथा विदेशी कूटनीतिज्ञहरूसँगको बाक्लो छलफल गरी विद्यमान ऐन, कानुन तथा प्रक्रियाका कमी कमजोरीलाई तत्काल हटाउने, संशोधन गर्ने र भारत, चीन र बंगलादेश लगायतका छिमेकी मुलुकसँग सहकार्यको हात अघि बढाउने प्रयास गर्नुलाई अत्यन्तै सकारात्मक कुरा मान्नुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न नेपालको जलविद्युत्को विकास नभई सम्भव नभएको तथ्य सबैका सामु घामझैँ छर्लङ्ग छ । बंगलादेशले नेपालका केही जलविद्युत् आयोजनमा लगानी गर्न सक्ने इच्छा व्यक्त गरिरहेका बेला भएको यो समझदारीमा उल्लेख भएका व्यवस्थाको कार्यान्वयन गर्न दुबै देशले सक्रियता देखाउन आवश्यक छ । हुन त बंगलादेशसँग नेपालको सिमाना जोडिएको छैन । समझदारीलाई परिणाममुखी मित्रतामा रूपान्तरण गर्न दुई देशको भूगोलको बीचमा रहेको भारतको पनि उत्तिकै रचनात्मक र सकारात्मक भूमिकाको खाँचो छ । बंगलादेशका लगानीकर्ताले नेपालमा लगानी गरेर उत्पादन भएको बिजुली भारतको बाटो भएर बंगलादेश लैजानुपर्ने भएकाले सार्कस्तरीय ऊर्जा विकासको अवधारणालाई भारतले आत्मसात् गरी नेपाल र बंगलादेशको ऊर्जा विकासमा एक असल छिमेकी तथा सहयात्रीको रूपमा उभिनु जरुरी छ ।
नेपालमा बिजुलीको उत्पादनको प्रशस्तै सम्भावना छ । त्यसका लागि नेपालले वैदेशिक लगानी र ऊर्जा खपतको लागि बजार खोजी रहेको बेला भारत र चीनपछि बंगलादेशसँग भएको समझदारीले आगामी दिन नेपालको ऊर्जा विकासका लागि अत्यन्तै उज्याला देखिएका छन् । विश्वव्यापीकरणको युगमा नेपालको पानीको सदुपयोग गरी सार्क राष्ट्रको आर्थिक विकासमा टेवा पुग्ने महान् अभियानमा नेपाल, भारत र बंगलादेशले त्रिपक्षीय सहमति र समझदारी गरेर भए पनि अगाडि बढ्ने दिशातर्फ जानुपर्छ । सुरुवात नजिकको छिमेकीबाटै हुन्छ, ऊर्जा विकास र बजार प्रवद्र्धनका लागि भारत, बंगलादेशसँग भएको यो सकारात्मक सुरुवातको दौडले भोलिका दिनमा पाकिस्तान, श्रीलंका तथा माल्दिभ्ससम्म छुनुपर्छ । अनि मात्र सार्क राष्ट्रस्तरीय प्रसारण लाइनमा नेपालको जलविद्युत् निर्वाध रूपले प्रवाह हुन सक्छ र नेपालको समृद्धिमा इँटा थपिन सक्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds