• १६ चैत २०८०, शुक्रबार

शहीद परिवारको ध्यानाकर्षण

blog

जुम्ला समाचारदाता

जुम्ला, चैत ९ गते । जुम्लाका शहीद परिवारले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा खारेजीको माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराउँदै प्रस्तुत तीनबुँदे मागमा सो मुद्दाले द्वन्द्व सिर्जना गर्ने, शान्ति प्रक्रिया बिथोल्ने भएकाले त्यसको अविलम्ब खारेजी गर्न, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा संशोधन गर्न बनेको विधेयक यथाशीघ्र पारित गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु-याउन माग गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “यदि शान्ति प्रक्रियालाई बिथोल्ने उद्देश्यसाथ झुटा मुद्दा लगाएर राजनीतिक क्रान्तिलाई अपराधीकरण गर्न खोजिएमा शाही ‘कु’ को नेतृत्व गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहलगायत तत्कालीन सरकारका उच्च पदस्थ व्यक्तिमाथि मुद्दा दर्ता गर्न बाध्य हुनेछौँ।” जनक्रान्तिका महान् शहीद परिवार समाज जुम्लाका अध्यक्ष विष्णुबहादुर भण्डारीले शहीदको योगदानको अवमूल्यन गरिए तुरुन्त आन्दोलन गर्ने बताउनुभयो। जुम्लामा द्वन्द्वको समयमा २५० जना व्यक्तिले ज्यान गुमाएका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले बताउनुभयो।