• १३ वैशाख २०८१, बिहिबार

आँखा उपचारमा भारतीय नागरिकको घुइँचो

blog

देउखुरी समाचारदाता 

देउखुरी, चैत ९ गते । मोहम्मद बसिरको घर भारत बलरामपुर जिल्ला रनियापुरमा पर्छ। उहाँ उमेरले ८० वर्ष पुग्नुभयो। बसिरको आँखा बिस्तारै धमिलो हुँदै गयो। स्थानीय चिकित्सकले आँखाको अप्रेसन गर्नुपर्ने सल्लाह दिए। 

आर्थिक अवस्था कमजोर भएका बसिर उपचार नगरी घरै बस्नुभएको थियो तर कोइलाबासमा निःशुल्क आँखा शिविर चलेको खबर पाएपछि भने उहाँ आँखाको उपचार गर्न नेपाल आउनुभयो। 

उक्त शिविरमा आँखाको शल्यक्रिया गर्नुभएका बसिरले आँखा देख्न थालेपछि नयाँ जीवन पाएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीकहाँ उपचार राम्रो छैन। महँगो पनि छ। त्यसैले नेपाल आएको हुँ।”

उहाँजस्तै सयौँको सङ्ख्यामा भारतीय नागरिक आँखा उपचारका लागि कोइलाबासमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा आइपुगेका हुन्। दुई दिनसम्म चलेको शिविरमा भारत उत्तर प्रदेश बलरामपुर जिल्लाका विभिन्न बस्तीका नागरिक सहभागी थिए। नेपाली नागरिकको तुलनामा भारतीय नागरिक आँखाको उपचार गर्न धेरै आउने गरेको गढवा गाउँपालिका वडा नं. ८, कोइलाबासका स्थानीय बीएम रत्न तुलाधरले बताउनुभयो। उहाँले कोइलाबासमा आँखा उपचार केन्द्र खुलेपछि नेपालीभन्दा भारतीय नागरिकलाई सहज भएको बताउनुभयो। कोइलाबास आँखा उपचार केन्द्र सञ्चालन छ। यहाँ मोतीबिन्दुको शल्यक्रिया सेवा पनि दिने गरिएको छ।

भारतमा आँखा उपचार सेवा महँगो भएका कारण नेपालमा आँखा उपचार सेवा लिन भीडभाड हुने गरेको गढवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष अब्दुलखालिक सिद्दिकीले जानकारी दिनुभयो। उहाँका अनुसार कोइलाबासको आँखा उपचार केन्द्रले यहाँ चहलपहल ल्याउन मद्दत गरेको छ। सो केन्द्रले सर्वसाधारणको सुविधाका लागि निःशुल्क आँखा उपचार शिविरसमेत सञ्चालन गर्दै आएको छ। नेपाल नेत्रज्योति सङ्घले अन्धोपन निवारणका लागि आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको हो। भारतको सीतापुर पुगेर आँखा जँचाउनुपर्ने बाध्यतामा नेपाली छन्। 

तर नेपालमा आँखा उपचार केन्द्र खुलेपछि भारतीय नागरिक नै नेपाल आउन थालेका छन्। उपचारमा सहजता आएपछि अन्धोपन निवारण हुँदै गएको नेत्रज्योति सङ्घ जिल्ला शाखा दाङका सभापति कृष्णकुमार गिरीले बताउनुभयो। 

सो नेत्रज्योति सङ्घले कोइलाबासमा आँखाको सर्जिकल सेन्टरको रूपमा विकास गरेको हो। अहिले हरेक महिनाको एक पटक आँखाको शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ।