विचार र चरित्रको गरिमा

उद्धवप्रसाद भटृराई ‘चैतन्यदीप’

 


मानिसको वास्तविक व्यक्तित्व पहिचान उसको आचार, विचार र व्यवहारमा कतिसम्म शुद्धता देखिन्छ, त्यसले सङ्केत गर्ने कुरा हो । यसैले मानिसको वास्तविक पहिचान र अस्तित्व उसको विचार, आचार र चरित्रले देखाउँछ । एउटा प्रचलित भनाइ पनि छ, ‘धन सम्पत्ति, स्वास्थ्य र पद गयो भने फेरि प्राप्त गर्न सकिन्छ तर चरित्रमा दाग लाग्यो भने जीवनको सबभन्दा ठूलो क्षति भएको मानिन्छ । ’ यदि कुनै व्यक्ति आर्थिक रूपले विपन्न छ, पद प्रतिष्ठामा छैन तर चरित्रवान् र इमानदार छ भने ऊ समाजमा सम्मानित भएर बाँच्न सक्छ । कुनै व्यक्ति धनवान् छ, ठूलो शक्तिशाली छ, पद र प्रतिष्ठाले युक्त छ, तर चरित्रहीन, गैरइमानदार, भ्रष्ट आचरणको छ भने समाजले उसलाई स्थान दिनेछैन । चरित्र राम्रो भएको मानिसको जताततै सम्मान हुन्छ । त्यसैले चरित्र निर्माण जीवनको बहुमूल्य, दुर्लभ र अनमोल सम्पत्ति हो ।
जुन राष्ट्रमा चरित्र, चेतना र राष्ट्रियताको भावना उच्च हुन्छ, त्यही राष्ट्रको विकास र उत्थान सहजै भएको देख्न सकिन्छ । राष्ट्रका नागरिकहरूको चेतनाको स्तर कमजोर छ भने पनि मुलुक अगाडि बढ्दैन । व्यक्तिवादी चरित्रदेखि माथि उठ्दै राष्ट्रिय दृष्टिकोणलाई महìव दिई देश र जनताको हितमा काम गर्ने उद्यमी, परिश्रमी, शिक्षित तथा चेतनशील नागरिकहरू भएको राष्ट्रले नै चाँडै उन्नति र विकास गर्छ । दोस्रो विश्वयुद्धपछि अमेरिका, जापान, जर्मन, फ्रान्स, स्विडेन, स्विटजरल्याण्ड, रसिया तथा दक्षिण पूर्व एसियाका मुलुकहरूले विकासको तीव्र गति लिनुमा मानवीय शान्ति, चरित्र र उच्च राष्ट्रिय दृष्टिकोण नै मुख्य कारकतìव थियो । यस विपरीत चरित्रहीन, उद्यमहीन, अल्छी, शिथिल, चेतना र जागरण नभएका नागरिक बसोबास गर्ने मुलुकहरू अझै आर्थिक एवं औद्योगिक स्तरमा विपन्न र गरिब छन् । अफ्रिकी मुलुक, दक्षिण अमेरिका र एसियाका केही मुलुकहरूको यही अवस्था छ । तसर्थ राष्ट्रको समृद्धि र विकास नागरिकहरूको चरित्रमा निर्भर गर्दछ । चरित्र नभएको समाज भ्रष्ट हुन्छ । राज्यले चरित्र निर्माणका लागि चेतनाको स्तर माथि उठाउने प्रयासमा लाग्नु पर्छ ।
शिक्षाले मानवको चरित्र निर्माण गरी व्यक्तित्वको विकास गर्नुपर्छ । व्यक्ति बनेन भने समाज पनि बन्दैन । आजका विद्यार्थीहरूको उच्च चेतना बन्न सकेन भने भोलि देशको भविष्य पनि अन्धकार हुन्छ । हरेक मातापिताले आफ्नो सन्तानलाई भौतिक सम्पत्ति र शिक्षाको सु–अवसर प्रदान गरेर मात्र पुग्दैन, उसले यथार्थमा असल संस्कृति, चरित्र र सुयोग्य संस्कार सिकेको छ कि छैन त्यसको पनि ख्याल गर्न जरुरी छ । ज्ञानले मानिसलाई सुसंस्कारित बनाइदिन्छ । अज्ञानी अभिभावक भए भने उसका सन्तानहरूको संस्कार पनि राम्रो हुँदैन । समाजमा यस्ता दुःखद घटना पनि हामीले देखेका, अनुभव गरेका छौँ कि सम्पत्तिवान् पिताका पुत्रले ज्ञान र विवेकको अभावमा विरासतमा पाएको सम्पत्तिको मात्र होइन, आफ्नो जीवनको समेत वर्वादी र दुरूपयोग गरिरहेको पाइन्छ । तसर्थ धन, सम्पत्ति, मान, प्रतिष्ठा तथा कुल जस्तोसुकै भए पनि व्यक्तिको शिक्षा, आचरण, व्यवहार र चरित्र कस्तो छ त्यही महìवपूर्ण कुरा हुन आउँछ ।
आज समाज सबै कुरामा परिवर्तन भएको छ । तर व्यक्तिमा हुनुपर्ने सत्चरित्र, नैतिकता र आचरणको विकास हुन सकेको छैन । आधुनिक शिक्षा प्रणालीले शिक्षित समुदाय प्रशस्त उत्पादन गरेको भए पनि मात्र जागिरे मनोवृत्तिका कारण नैतिकता र चरित्रको मामिलामा खडेरी लाग्दै गएको छ । मूलकुरा के हो भने सङ्घ, संस्था, सङ्गठन, समाज र देशको चरित्रमा सुधार आउनुपर्छ । तब शिक्षाको महिमा र गरिमा देखिन्छ । एक त रोजगारी नै पाइन्न, पाए पनि इमानदारिता विनाको रोजगारीले देशलाई कता लैजान्छ भन्न सकिन्न । शिक्षा प्रमाणपत्रका लागि मात्र नभई प्रवीणता हासिल गर्ने माध्यम हो । समाज र राष्ट्रको निर्माण एवं विकासका निमित्त व्यावहारिक र जीवन–उपयोगी शिक्षा हुन जरुरी छ । जसले त्याग, नैतिक चरित्र, सदाचारप्रति निरन्तर उत्प्रेरणा जगाउन सकोस् । एउटा व्यक्तिका लागि राष्ट्र र अभिभावकले धेरै धन र समय खर्चेको हुन्छ । जसले परिणाममूलक समुचित उपलब्धि दिन सकेन भने शिक्षा क्षेत्र असफल मान्नुपर्छ ।
वैदिक दर्शनले हामीलाई प्रचूर मात्रामा आचार, विचार, व्यवहार, सदाचार र जीवनशैली कस्तो हुनुपर्छ भन्ने कुरामा बारबार मार्गदर्शन गर्दै आएको छ । त्यस्तै ऋषि पतञ्जलिको अष्टाङ्ग योग र मनुस्मृतिमा मनुले वर्णन गर्नुभएका धर्मका दश लक्षणहरू जस्तै धैर्य, क्षमा, मनको निग्रह, चोरी नगर्नु, पवित्रता, इन्द्रीय संयम, सात्विक बुद्धि, अध्यात्म विद्या, सत्य भाषण र अक्रोध एवं महात्मा गान्धीको सादा जीवन उच्च विचारलाई मात्र लिन सके पनि पर्याप्त शिक्षा मिल्छ । विगतका ऋषिमुनि, ब्रह्मर्षि, देवर्षि, राजर्षि, राजनेता, त्यागी, वैरागी सन्तका साहित्यहरूले मानवलाई सच्चा मनुष्य बन्ने शिक्षा दिएको भए पनि त्यसतर्फ ध्यान जान सकिराखेको छैन । वेद भन्छ, हामीलाई चारैतिरबाट असल विचारहरू आइरहून् । सन्तहरूको भनाइ छ, सत्चरित्रविनाको शिक्षा, मानवताविनाको धर्म, नैतिकताविनाको व्यापार र सिद्धान्त तथा इमानदारिताविनाको राजनीति समाज र राष्ट्रका लागि अत्यन्त घातक र पीडादायी हुन्छ ।
राजनीति, व्यापार, व्यवसाय र उद्योगमा नैतिकता लोप हुँदै गइरहेको छ । खाद्य पदार्थमा समेत प्राणघातक विषादी कुराहरू मिसावट मिसाइँदैछ । शिक्षामा नैतिकता र चरित्रपक्ष दुर्वल छ भने धर्ममा मानवताभन्दा अहंकारको मात्रा बढी छ । राजनीतिले सिद्धान्तहीनताको पराकाष्ठा नाघेको छ । तथापि यस समाजलाई कुरीति, कुसंस्कार र चरित्रहीनताबाट मुक्त गर्न केही सत्पुरुष सत्यनिष्ठामा आधारित भई केही सुधारका प्रयासहरू गरिरहेका छन् । यसरी आदर्श समाजको स्थापना, नागरिकको चरित्र निर्माण, सुमति विचारको सचेतना, सदाचार निर्माणमा सत्पुरुषहरू लागिरहेको भए पनि यथोचित सुधार भने आउन सकेको छैन । चरित्र निर्माणको सन्देश हरक्षेत्रमा पु¥याउन जरुरी हुँदाहुँदै यसमा प्रेरणा र उत्साह जगाउने व्यक्तित्वको कमी छ । यसरी देशमा आज व्यापकरूपमा देखापरेको चौतर्फी नैतिक र चारित्रिक चेतनाको खडेरीलाई कुन तरिकाबाट पूर्ति गर्न सकिन्छ, त्यसमा नागरिक समाज सजग हुन जरुरी छ ।
नैतिक सङ्कटबाट राष्ट्र र समाजलाई बचाउन सबै शान्तिकर्मी नागरिक समुदायको प्रयास अपेक्षित हुनसक्छ । स्वःपरिवर्तन नै विश्व परिवर्तनको आधार भएकोले हरेक व्यक्तिले आफूलाई परिवर्तन गरी सच्चरित्रको उत्थानतर्फ लाग्नु श्रेयस्कर हुन्छ । चरित्र कुरा मात्र नभई कर्म पनि हो र उपदेश मात्र नभई उदाहरण पनि हो भन्ने सार्थक कुरालाई हरेक मनुष्यले सम्झनुपर्ने समय आएको छ । यसमा लापरबाही गरेमा वा भएमा भयावह सङ्कटलाई सामना गर्न नपर्ला भन्न सकिन्न । यसैले नैतिकता र चरित्रको मामिलामा सबै सजग हुन जरुरी छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds