विपन्नले पाएनन् गरिबको परिचयपत्र

राजन राउत 

सिमकोट, साउन २६ गते । जिल्लाका सातवटै गाउँपालिकामा लक्षित वर्गका कतिपय घरपरिवारले गरिबको परिचयपत्र पाएका छैनन् तर नपाउनुपर्ने टाठाबाठाले भने परिचयपत्र हात पार्न सफल भएका छन् । त्यसक्रममा जमिनमा हदबन्दी लागेका, सिमकोट, सुर्खेत, नेपालगञ्ज र काठमाडौँ समेत घर घरडेरी भएका व्यक्तिले क वर्गको परिचयपत्र पाएका छन् ।
अहिले पनि छ जनाको परिवारलाई धनीको घरमा हलो जोतेर परिवार पाल्दै आउनुभएका सिमकोट गाउँपालिका वडा नम्बर ३ का गोरख सुनारले केही दिन अगाडि वितरण भएको परिचयपत्र पाउनुभएन । ‘यो परिचयपत्र पनि धनी र पहुँचवालाकै लागि आएको रहेछ,’ उहाँले भन्नुभयो वर्षैदेखि उहाँ अर्काको घरमा बसेर हलो जोत्नु भएको छ । त्यसैबाट परिवार पाल्नु भएको छ ।
‘म जस्तो अर्कोको घरमा काम गरेर परिवारका सदस्यहरूलाई पाल्नेले पाउनु पर्ने हो तर खै त ?’ उहाँको भनाइ छ । दैनिक छाकै टार्न समस्या हुनेले नपाउने गरिबको परिचयपत्र कसका लागि आएको हो भन्ने प्रश्न पनि स्थानीयवासीको छ ।
सरकारी जागिर भएका, ब्यापारी र सिमकोटमा घरघडेरी भएकाले परिचय पाउँदा आफू छुटेको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ की सौरीकला नेपालीले बताउनुुभयो । १० बर्ष अघि श्रीमान् बितेका नेपालीले आँखाभरि आँसु झार्दै भन्नुभयो,‘ बस्नका लागि गतिलो ओत पनि नभएको मजस्ताले परिचयपत्रबाट छुटाउनु कतिको न्याय होला ? ’id_1
आफ्नै वडाका विद्यालयमा स्थायी शिक्षक, जडिबुटी ब्यापारी र राजनीतिक दलका नेताहरुले परिचय पत्र पाउँदा मनै भक्कानिएको उहाँले बताउनुुभयो । ‘ हामीजस्ताको केही नलाग्ने रहेछ ,’ उहाँले निराश हँुदै भन्नुभयो ।
गाउँपालिकाभरि २० प्रतिशत मात्र असली गरिबले परिचयपत्र पाएको सर्केगार्ड गाउँपालिकाका वडा ५ का अध्यक्ष कर्णजङ शाहीले बताउनुुभयो । गरिब तथा न्यून आय भएकाहरूका लागि आएको परिचय पत्र सिमकोटका ठूला ब्यापारी, काठमाडौंमा घर भएका, सरकारी स्थायी जागिर खाएका, पूर्व सांसद र जनप्रतिनिधिहरूले समेत विपन्नको परिचयपत्र पाएका छन् ।
अध्यक्ष शाहीका अनुसार लाजै नमानी धनीहरूले पनि परिचयपत्र लिएको देख्दा अचम्म लागेको छ । अध्यक्ष शाहीको वडामा ३० प्रतिशत मध्यम र ५० प्रतिशत धनीले परिचय पत्र पाएका छन् ।
सबै गाउँपालिकामा वास्तविक गरिबहरू परिचयपत्र पाउनबाट छुटेपछि सबैतिर त्यसको चर्को बिरोध सुरु भएको छ । वडा, गाउँपालिकादेखि जिल्ला प्रशासन कार्यालयसम्म उजुरी पनि परेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुुभयो ।
उजुरीलाई तत्काल थामथुम पार्न गरिब घरपरिवार पहिचान जिल्ला समन्वय समितिले छुटेका सबैलाई समेट्न आवश्यक कागजातसहित केन्द्रमा पठाउने निर्णय गरेको छ । जिल्लाभरि चार हजार ५६० घरपरिवारलाई परिचय पत्र वितरण गरिएको कार्यक्रमले जनाएको छ । त्यसमा अति गरिब दुई हजार १०९, मध्यम खालका एक हजार ४२० र सामान्य एक हजार ३१ घरपरिवारलाई परिचयपत्र वितरण गरिएको छ । २०७० सालमा कार्यक्रमले जिल्ला भरिका आठ हजार ५३५ घरधुरीको विवरण सङ्कलन गरेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds