• १६ चैत २०८०, शुक्रबार

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाको दाबी

blog

बैठकपछि जानकारी दिनुहुँदै जसपाका प्रवक्ता मनिष सुमन ।

काठमाडौं, चैत ८  गते। जनता समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी रहने दाबी गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो दाबी गर्ने निर्णय गरेको हो।

बैठकपछि जसपाका पार्टी प्रवक्ता मनिष सुमनले भन्नुभयो, “ उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० गते तोकको छ। तनहुँ, चितवन र बारा निर्वाचन गराउने भनेको छ। त्यसको लागि आयोगले निर्धारित गरेको समयभित्र नै जनता समाजवादी पार्टीले दर्ता गराउने निर्णय गरेका छौँ। यही चैत्र २७, २८ र २९ गते तीन दिनको लागि हामीले काठमाडौंमा नै विधान अधिवेशन गर्ने निर्णय गरेका छौँ।”

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव हुनुहुन्छ। यसअघि उहाँ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यमा बारा– २ बाट निर्वाचित हुनुभएको थियो। 

उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्ने संवैधानिक व्यवस्था छ। सो अनुरूप उक्त क्षेत्रमा जसपाले दाबी गर्नपाउनुपर्ने भनाइ उहाँले राख्नुभयो। तर, उहाँले उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय नभएको बताउनुभयो।

“उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन। तर, हाम्रो पार्टीको निर्देशिकाले क्षेत्रीय समितिले प्रस्ताव गरेको निर्णयलाई हस्ताक्षर गर्नेछौँ। बारा–२ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ”, उहाँले भन्नुभयो।