• १३ वैशाख २०८१, बिहिबार

व्हीलचेयर क्रिकेट टोली भारत जाने

blog

व्हीलचेयर क्रिकेट टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउँदै । तस्बिर : सौजन्य राखेप

काठमाडौं, चैत ८ गते । व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ ।

हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणीनारायण पौडेल, रमेश खत्री, वरुण बुढा मगर र राजु कट्वाल रहनु भएको छ । प्रशिक्षकमा भरतकुमार कार्की हुनुहुन्छ । 

टोली प्रमुखमा नेपाल प्यारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल हुनुहुन्छ । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी ४ राष्ट्रको सहभागिता रहने छ ।

चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले मार्च २४ मा श्रीलङ्का, मार्च २५ मा भारत र मार्च २७ मा बङ्गलादेश विरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।