• ८ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभाको अर्को बैठक चैत १२ गते बस्ने

blog

बुधबारको राष्ट्रिय सभाको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री र राष्ट्रिय सभाका सदस्य । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत ८ गते। राष्ट्रिय सभाको बुधबारको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ। समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेश गर्नुभएको हो।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभएको थियो। त्यस्तै उहाँले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यको नाम मनोनयन गरिएको बेहोरासमेत सदनलाई जानकारी गराउनुभएको थियो।

शोक प्रस्ताव पारित

बैठकले संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। संविधान सभा सदस्य विमलीको यही चैत ७ मा ७४ वर्षको उमेरमा निधन भएको हो। उहाँ २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट संविधान सभा सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो। 

राष्ट्रिय सभाको अर्को बैठक यही चैत १२ गते आइतबार अपराह्न १ बजे बस्नेछ।