• ४ वैशाख २०८१, मङ्गलबार

मिसन ग्रासरुट : बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सर्केगार्डमा हुने

blog

राजन रावत

हुम्ला, चैत ८ गते । एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत सर्केगार्डमा बृहत् अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । कार्यक्रममा सहभागिता जनाउन एमाले सचिव योगेश भट्टराई हाल सञ्चालन भइरहेको मिसन ग्रासरुट कार्यक्रमको अनुगमन गर्न हुम्ला पुग्नुभएको हो । 

कर्णाली प्रदेशका दश वटै जिल्लाको अनुगमन गर्ने पार्टीबाट जिम्मेवारी पाउनुभएका सचिव भट्टराई कार्यक्रमअन्तर्गत हुने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन र समग्र रूपमा सञ्चालित कार्यक्रमको मूल्याङ्कन गर्नुहुनेछ । एमाले हुम्लाका का.वा. अध्यक्ष डबल रावतले चैत १७ गते मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा मिसन ग्रासरुटअन्तर्गत अगुवा कार्यकर्ता प्रशिक्षण हुने र समग्र कार्यक्रमको मूल्याङ्कन गर्न सचिव भट्टराई आउन लागेको बताउनुभयो । 

जिल्लाभरिका अगुवा कार्यकर्तालाई सचिव भट्टराईले प्रशिक्षण र पार्टीको आन्तरिक विषयमा समेत आफ्नो धारणा राख्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । सो प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू, हुम्ला जिल्लाको प्रदेश सभाअन्तर्गत गत क र ख निर्वाचन क्षेत्रका कमिटी, सात वटै गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरू, ४३ वडा कमिटीका पदाधिकारीहरू, एमालेको जनवर्गीय सङ्गठनका पदाधिकारीहरूको सहभागिता रहने भएको छ । 

केन्द्रबाट आउनुहुने सचिव भट्टराईका साथै कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी र मूल्याङ्कन कमिटीकी सदस्य एवं पूर्व सभामुख शिवमाया तुम्बाहाम्फे पनि सो कार्यक्रममा भाग लिन आउने कार्यक्रम रहेको एमाले जिल्ला कमिटीको सचिवालय सदस्य कमल बोहराले बताउनुभयो ।