पर्यटन प्रवद्र्धनका चुनौती (सम्पादकीय)

 भौगोलिक रूपमा सानो मुलुक भए पनि पर्यटकीय गन्तव्यका रूपमा नेपाल विश्व मानचित्रमा अङ्कित छ । यहाँको सांस्कृतिक, धार्मिक, प्राकृतिक विविधताले सबैलाई आकर्षित गर्छ । सर्वाेच्च शिखर सगरमाथासहित अग्ला हिमाल, पर्वतारोहण, पदयात्रा, जलयात्रालगायतका साहसिक पर्यटनको सम्भावना, हावापानीको विविधता, पशुपतिनाथ र लुम्बनीजस्ता पवित्र तीर्थस्थलले विभिन्न खाले पर्यटक आकर्षण गर्नसक्छ । एक महिनाअघि प्रसिद्ध गाइडबुक एन्ड ट्राभल वेबसाइट ‘लोन्ली प्लानेट’ ले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई २०१८ मा भ्रमण गर्नैपर्ने एसियाका दश गन्तव्यको सूचीमा सातौँ क्रममा राखेको थियो । समयसमयमा सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, लाङटाङ, हेलम्बु र मनास्लुलगायतका उच्च हिमाली र पहाडी भूभागलाई पनि विभिन्न संस्थाले भ्रमण गर्नुपर्ने गन्तव्यको सूचीमा समावेश गर्ने गरेका छन् । यसले नेपाल आउने पर्यटकको सङ्ख्यामा सकारात्मक प्रभाव पारेको छ । 

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी सरकारको भइरहेको छ । यो लक्ष्य २०१७ मा भित्रिएका करिब साढे नौ लाख विदेशी पर्यटकको दोब्बर सङ्ख्या हो । एक साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा चालू आर्थिक वर्षमा पर्यटक १२ लाख पु¥याउने, एक सय पर्यटन गन्तव्य विकास गर्ने र पाँच वर्षभित्रमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अहिलेको तथ्याङ्क अनुसार भारत पहिलो, चीन दोस्रो र संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छन् । फ्रान्स, बेलायत, जर्मनीलगायत युरोपेली मुलुकका पर्यटकको सङ्ख्या पनि निकै छ । जापान, दक्षिण कोरियालगायतका एसियाली मुलुक र पछिल्लो समयमा बङ्गलादेशी, श्रीलङ्काली पर्यटकको सङ्ख्या पनि बढ्दो छ ।
जुनसुकै मुलुकबाट आए पनि विदेशी पर्यटक हाम्रा लागि महìवपूर्ण छन् । तर हाम्रो सीमित स्रोत, साधन र क्षमताका कारण छिमेकी भारतीय र चिनियाँ पर्यटकमा हाम्रो ध्यान बढी जान आवश्यक छ । बर्सेनि ५४ लाख भारतीय र सवा १२ करोड चिनियाँ विदेश भ्रमणमा निस्कन्छन् । यसको सानो हिस्सा मात्रै नेपालमा भित्र्याउन सक्ने हो भने पनि नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउनसक्छ । विदेश भ्रमण आर्थिक स्तरसँग प्रत्यक्ष सम्बन्धित भएको र यी मुलुकका जनताको प्रतिव्यक्ति आयको उच्च वृद्धि भइरहेका कारण आगामी दिनमा अझ ठूलो सङ्ख्यामा विदेश भ्रमणमा निस्कने सम्भावना छ । अर्काेतर्फ भारतीय र चिनियाँ पर्यटक सबभन्दा बढी खर्चालु मानिन्छन् । औसत प्रतिव्यक्ति खर्च भारतीय पर्यटकको एक हजार दुई डलर र चिनियाँको नौ सय डलर छ भने अमेरिकीको सात सय डलर, बेलायतीको पाँच सय डलर छ । त्यसैले भारत र चीन पर्यटकका प्रमुख स्रोत राष्ट्र भएकाले यी मुलुकमा पर्यटन प्रवद्र्धनका लागि विशेष ध्यान पु¥याउन आवश्यक छ ।
पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच समयसमयमा महìवपूर्ण सहमति भएका छन् । दुई देशका प्रधानमन्त्रीको भेट र एक महिनाअघि भएको समझदारीको कार्यान्वयनले भारतीय पर्यटक आकर्षण गर्न सहयोग पुग्नसक्छ । रामायण सर्किट, बुद्धिष्ट सर्किटलगायत साहसिक पर्यटन प्रवद्र्धनमा दुवै देशका सहमति भइसकेकाले यसलाई कार्यान्वयनमा लैजान ढिलाइ गर्नु हुँदैन । गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पन्न गर्नुभएको चीन भ्रमणका क्रममा दुई देशबीच रेल, सिधा उडान, सडक, सञ्चार लगायतका कनेक्टिभिटी सहयोग परियोजनामा हस्ताक्षर भएको छ । यसले चिनिया पर्यटक नेपालमा भित्र्याउन सहयोग पुग्ने आशा गर्न सकिन्छ । नेपालमा पर्यटक आगमन सिजनल हुनेगर्छ । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा निकै सङ्ख्यामा विदेशी पर्यटक आउँछन् । यो समयमा अमेरिकी तथा युरोपेली पर्यटकको सङ्ख्या निकै रहने गर्छ । अफ सिजनका रूपमा लिइने गर्मी र वर्षाको समयमा भने पर्यटकको सङ्ख्या कम हुन्छ । यो समय भने भारतीय पर्यटकका लागि उपयुक्त समय पनि हो । म्यान्मा, भियतनाम र बङ्गलादेशबाट पनि धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ । अर्कोतर्फ, गन्तव्य स्थलको पहिचान र विकास हुन सकेको छैन, विमानस्थल, सडकजस्ता भौतिक पूर्वाधारको पर्याप्त सुधार नभए अब बढ्ने पर्यटकलाई धान्न सक्ने क्षमता छैन । त्यसैले पर्यटन प्रवद्र्धन सँगसँगै पूर्वाधार विकासमा पनि ध्यान जानुपर्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds