आर्थिक विकासमा वाणिज्य बैङ्कहरू

ramesh paudelडा. रमेश पौडेल


आर्थिक विकासका सन्दर्भमा नेपालका वाणिज्य बैङ्कहरूको भूमिकालाई पुनःपरिभाषित गरिनुपर्ने आवश्यकता टड्कारो देखिँदैछ । वाणिज्य बैङ्कहरू पूर्ण रूपमा नाफा बढाउने कुरामा मात्र केन्द्रित हुँदा हामीले बैङ्किङ क्षेत्रबाट अपेक्षित लाभ लिन सकिरहेका छैनौँ । नेपालमा अहिले अर्थतन्त्रका तीनवटा समष्टिगत क्षेत्र उद्योग, कृषि र सेवाका अर्थतन्त्रमा गरेको योगदान र वाणिज्य बैङ्कहरूले ती क्षेत्रमा गरेको कर्जा प्रवाहलाई हेर्दा सन्तोषजनक छैन ।
उल्लेखित तीनवटा क्षेत्रमध्ये परम्परागत पेशाको हिसाबले कृषि क्षेत्र महìवपूर्ण मानिन्छ । हाम्रो जनसङ्ख्याको ठूलो हिस्सा अहिले पनि कृषिमा आधारित छ । पछिल्लो दशकको अन्त्यतिर, खासगरी पछिल्ला पाँच वर्षमा काठमाडौँ उपत्यकासँग नजिकका जिल्ला नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवनलगायतमा कृषिलाई आधुनिक पेशाको रूपमा अंगाल्ने प्रवृत्ति बढ्दो छ । यो प्रवृत्तिसँगै उनीहरूका वित्तीय आवश्यकतालाई नयाँ ढङ्गले विश्लेषण गरिनुपर्ने आवश्यक छ ।
सोच्नैपर्ने तथ्यहरू
हाम्रो अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान तुलनात्मक हिसाबले कमजोर रहेको सत्य हो । जबसम्म औद्योगिक क्षेत्रको विकास गर्न सकिँदैन तबसम्म देशबाट युवा विदेशिने क्रम यो वा त्यो रूपमा रहिरहनेछ । औद्योगिक क्षेत्रको विकासले मात्र अदक्ष र अर्धदक्ष धेरै जनशक्तिलाई रोजगारको अवसर प्रदान गर्नेछ । त्यसको विकल्पमा कृषि क्षेत्रको आधुनिकीकरण हो र त्यो पनि एक प्रकारले औद्योगीकरण नभएसम्म पूर्ण रूपमा विकसित हुन सक्दैन । कृषिबाट उब्जिएको उत्पादनलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्दै प्रशोधित खाद्यान्न बनाउँन सक्दा मात्र कृषि क्षेत्रको विस्तार हुनेछ । जब कृषि उपजलाई प्रशोधित गर्ने कुरा जोडिन्छ त्यो स्वाभाविकरूपमा उद्योगमा रूपान्तरित हुन्छ । त्यसैले कृषि र उद्योग दुईवटै क्षेत्रले रोजगार सिर्जना गर्ने हिसाबले एकीकृत हुँदै नेपालको विकास नीतिमा प्राथमिकता पाउनुपर्छ ।
आज सेवा क्षेत्रले लगानीलाई बढी आकर्षण गरेको देखिन्छ । कुल लगानीको झण्डै ८० प्रतिशतभन्दा बढी यस क्षेत्रले ओगटेको छ । सेवा क्षेत्रका व्यवसायहरू जस्तै वाणिज्य बैङ्क, अस्पताल, विद्यालय र कलेज, विभिन्नखालका बिक्री एजेन्सीहरू, ठूला व्यवसायिक सेवा प्रदायक संस्थाहरू सबैले ठूलोमात्रामा लगानीको माग गर्छन् तर त्यसबाट सिर्जना हुने रोजगार कृषि र औद्योगिक क्षेत्रभन्दा कम हुने प्रवृत्ति देखिएको छ । अर्कोतर्फ यो क्षेत्रले थोरैमात्र अदक्ष र अर्धदक्ष जनशक्तिलाई रोजगार प्रदान गर्छ । त्यसैले नेपालको परिवेशमा शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता कुरालाई आधारभूत आवश्यकतामा परिभाषित गर्दै गुणस्तरीय बनाउन ध्यान दिनु आवश्यक छ तर यिनीहरूलाई नै रोजगारी सिर्जनाका प्रमुख क्षेत्र बनाउनु हुँदैन, पर्यटनजस्ता केही क्षेत्र अपवाद हुन सक्छन् । कृषि, उद्योग र पर्यटनलाई जोडेर हामीले विकासको मोडल तयार गर्नु आवश्यक छ । त्यसका लागि आवश्यकपर्ने वित्तीय सुविधाको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ ।
आर्थिक वृद्धिमा योगदान
सञ्चारको विकास, वैदेशिक रोजगारका अवसर आदिका कारण कृषि र उद्योग क्षेत्रमा लगानी घटिरहेको, यस क्षेत्रमा आश्रित जनसङ्ख्या घटिरहेको र युवाको रुचि नभएको अवस्थामा कृषिलाई प्रविधिमैत्री र आधुनिक उद्योगसँग नजोडेसम्म यस खालको विकर्षण रहिरहनेछ । अर्को तथ्य के हो भने ठूलो लगानी सेवा क्षेत्रमा भए पनि तिनै क्षेत्रको औसत वृद्धि विगत ५० वर्षदेखि करिब छ – सात प्रतिशतको हाराहारीमा सीमित छ । अर्थात् नेपालको आर्थिक वृद्धिदरमा राम्रो भनिएको सेवा क्षेत्रको योगदान पनि कृषि र औद्योगिक क्षेत्रको योगदानभन्दा औसत रूपमा बढी छैन । यो तथ्यले पनि कृषि र उद्योग क्षेत्रलाई बढी प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । हाम्रा तुलनात्मक लाभ र भौगोलिक परिवेशका कारण पनि कृषि र उत्पादनजन्य उद्योगलाई भिन्न रूपबाट हेर्न सकिँदैन, यदि हामीले कृषिको आधुनिकीकरण चाहन्छौँ भने ।
सेवा क्षेत्रको उचित छनोट
सेवा क्षेत्र रोजगार अभिवृद्धि गर्ने हिसाबले प्रभावकारी नभए पनि त्यसलाई पूर्णरूपमा बेवास्ता भने गर्नु हुँदैन । जनजीविकालाई उन्नत र त्यसको अभिवृद्धि गर्नका लागि पनि सेवा क्षेत्र आवश्यक छ । मानव विकासलाई सहयोग पु¥याउने क्षेत्रमा गरिएको लगानीका उपलब्धि मापन गर्ने आधार रोजगार सिर्जना मात्रै होइन । बरु समाजमा फजुल खर्च बढाइरहेका र चरम उपभोक्तावादी प्रवृत्तिको विकास गरिरहेका सेवा क्षेत्रलाई निरुत्साही गरौँ वा निश्चित सीमामा कायम राखौँ । नेपाली समाज र हाम्रो विकासको लक्ष्यलाई आवश्यक पर्ने सेवा क्षेत्रको तय गरी छनोट गर्न सक्दा मात्र लगानीले दीर्घकालमा प्रतिफल दिन सक्नेछ ।
साना र मझौला उद्यममा लगानी
नेपालको समग्र उद्योग व्यवसायको सन्दर्भमा तथ्याङ्कलाई विश्लेषण गर्दा प्रष्ट हुन्छ भने हामीले ठूलाभन्दा साना र मझौला उद्यम व्यवसायलाई बढी प्राथमिकता दिनुपर्छ । कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदानको झण्डै ९० प्रतिशतभन्दा बढी साना तथा मझौला उद्यमहरूको योगदान छ । रोजगारको सन्दर्भमा पनि ठूला उद्योगको योगदान २५ प्रतिशतभन्दा थोरै छ । जबकि वाणिज्य बैङ्कहरूको जम्मा कर्जा लगानीको पाँच प्रतिशतभन्दा कम मात्र साना तथा मझौला उद्यम व्यवसायलाई प्रवाह हुने गरेको छ । यसले देखाउँछ कि हाम्रो सन्दर्भमा रोजगार सिर्जनाका लागि तुलनात्मक रूपले राम्रो मानिने साना तथा मझौला उद्यम व्यवसायहरू नै वित्तीय सङ्कटग्रस्त छन् । यो समस्या समाधान नगरेसम्म देशभित्रै रोजगार सिर्जना गर्ने कुरा कोरा कल्पना मात्र बन्नेछ । अतः साना र मध्यम खालका उद्यममा कर्जा प्रवाह कसरी बढ्छ भन्ने सम्बन्धित नीति निर्माताको सरोकारको विषय बन्नुपर्छ ।
कस्तो कृषि, कस्तो उद्योग ?
नेपालको सन्दर्भमा कृषि र उद्योग भन्नासाथ कस्तो कृषि र उद्योग भन्ने कुरा महìवपूर्ण रहन्छ । अफगानिस्तानले फलफूललाई सुकाएर वा प्रशोधन गरेर निर्यात गर्ने गर्छ । कृषिलाई नयाँ तरिकाले विश्व बजारसँग एउटा उद्योगकै रूपमा प्रस्तुत गर्न सकेको राष्ट्र इक्वेडरले फूललाई विभिन्न तरिकाले निर्यात गर्छ । इक्वेडरको यो काम कृषिको उत्पादनलाई प्रयोग गर्दै उद्योगसँग जोड्ने नयाँ र उसको भौगोलिक अवस्था एवं तुलनात्मक लाभका आधारमा हेर्दा पनि उदाहरणीय मानिन्छ ।
नेपालको भौगोलिक अवस्था धेरै हिसाबले अरू छिमेकीभन्दा फरक छ । उत्तरतर्फको चिसो भूगोल अनि दक्षिणतर्फको भूगोलमा उत्पादन गर्न सकिने कृषि उपजका लागि त्यसैसँग सुहाउँदो औद्योगिक प्रणालीको विकास गर्नु सान्दर्भिक हुन्छ । दुवै भूगोल विशेषलाई एउटै नीतिले काम गर्न सक्दैन । कृषिसँग प्रत्यक्ष सम्बन्ध नराख्ने उद्योगहरूका लागि तुलनात्मक लाभको आधारमा र त्यसलाई निर्यात गर्न सकिने पूर्वाधारको अवस्था हेरी औद्योगीकरण गरिनुपर्छ । यस प्रक्रियामा आवश्यक अध्ययन र अनुसन्धान गरेर दीर्घकालसम्म अवलम्बन गर्न सकिने उद्योग विकास नीति र रणनीतिसमेत तय गर्न सक्दा त्यसले सबै राजनीतिक पार्टीको साझा दस्तावेजको रूप ग्रहण गर्न सक्नेछ ।
व्यावहारिक कर्जा प्रणाली
नेपालमा यो गर्छु र त्यो गर्छु भन्नेहरूको जमात ठूलो भयो तर विषयवस्तुलाई गम्भीरतापूर्वक विश्लेषण अध्ययन र अनुसन्धान गरेर नीति र कार्यक्रम बनाउने प्रचलन बस्न सकेन । यसको प्रभाव वाणिज्य बैङ्कले प्रवाह गर्ने कर्जाका विशेषतामा पनि प्रस्टै देखिन्छ । कृषि क्षेत्रलाई प्राथमिकता दिने हिसाबले कृषि विकास बैङ्कको स्थापना गरियो तर बिस्तारै त्यसले पनि कृषिभन्दा अन्य क्षेत्रलाई प्रवाह गरिने कर्जालाई प्राथमिकतामा राख्न पुग्यो । वाणिज्य बैङ्कहरूले प्रदान गर्ने कर्जा सुविधा मूलतः सेवामूलक व्यवसायलाई सुहाउने गरी डिजाइन गरिएको छ ।
महिनाको अन्तिममा ब्याज तिर्ने शर्त, त्रैमासिक वा चौमासिक ब्याजका शर्त कुनै उद्योग, कृषि, वा पशुपालनजस्ता पेशा गर्न चाहने व्यवसायीले पालना गर्न निकै कठिन छ । उदाहरणका लागि बाख्रा पालन गर्ने कृषकले आम्दानी गर्न थोरैमा पनि एक वर्ष लाग्छ, उसले मासिक वा त्रैमासिक ब्याज कसरी भुक्तान गर्ने ? अप्ठ्यारो कुरा हो । उद्योगको प्रकृति हेरेर छ महिनाभन्दा बढी पक्कै लाग्छ तर उसलाई त्यो समयसम्म ब्याज नतिर्ने छुट हामीकहाँ छैन । त्यसैले हाम्रो अर्थतन्त्रलाई बढी टेवा दिन सक्ने उद्यमशीलतालाई सुहाउने गरी कर्जाका प्याकेजहरू वाणिज्य बैङ्कमार्फत उद्योगी व्यवसायीको बीचमा पुग्न सक्दा राष्ट्रिय उत्पादनमा स्वाभाविक वृद्धि हुनेछ र रोजगारी बढाउने कुरा पनि सजिलो बन्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना